विराटनगर बन्दले जनजीवन प्रभावित

Biratnagar banda
लाेकपाटी न्यूज

विराटनगर, २३ वैशाख। प्रदेश १ को संरचना स्थापनाबारे असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन्। अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको हो।

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । सत्तारुढ नेकपाले गरेको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु नागरिक दबाव समूह बनाएर संघर्षमा उत्रिएका हुन्।

प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ। प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन्।

गठित शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् । स्वयं नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूहमा मिसिएको छ।