काठमाडौं, २५ वैशाख। नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।
खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औँल्याइएको छ।
पाइलटको तालिम र चालकदलको आवासमा समेत निगम पदाधिकारीले चलखेल गरेका छन्। निगमले नियमविपरीत वाई–१२ ई जहाज उडाउन निजी वायुसेवा कम्पनीमा कार्यरत पाइलट फिजोनाथ नेपाली र केबी लिम्बूलाई १३ लाख रुपैयाँसम्म मासिक तलब दिने गरी नियुक्त गरेको छ।
नेपाली मकालु एयरका अध्यक्ष हुन्। १ फागुन ०७५ मा सात लाख रुपैयाँ मासिक तलब तथा अन्य सुविधा दिने गरी नेपालीसँग र १८ माघ ०७५ मा लिम्बूसँग सम्झौता गरिएको थियो।
उनीहरूले ‘इन्स्ट्रक्टर पाइलट’को ‘लाइसेन्स इन्डोर्समेन्ट’ भएपछि मासिक १३ लाख रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ। नयाँ पत्रिकामा सुवास भट्टले समाचार लेखेका छन्।