बन्धक बनाइएका नेपाली चेलीको आफन्त नेपालद्वारा उद्धार

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख। नयाँ दिल्लीको दक्षिण पश्चिम किशनगढ भन्ने ठाउँको एक घरको २ वटा कोठामा बन्धक बनाएर राखिएका १० जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ।

वैदेशिक रोजगारीको लागि कुवेत पठाउनेभन्दै विगत केही महिनादेखि नयाँ दिल्लीको दक्षिण पश्चिम किशनगढ भन्ने ठाउँको एक घरको २ वटा कोठामा बन्धक बनाएर राखिएका १० जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको हो।

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई झुटो बोल्न लगाएर नेपालको सीमा पार गराउँदै फरक फरक एजेन्टमार्फत आसामको गुहावटीबाट बंगलादेशको सीमा हुँदै खाडी मुलुक पुर्याउने उदेश्यले लगिएको र आफु पक्राउ पर्ने डरले महिला तथा किशोरीलाई उक्त कोठामा बन्धक बनाई राखिएको थियो।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, र आफन्त नेपालको संयुक्त टोलीले राती छापा मारेर उनीहरुको उद्धार गरेको हो। उद्धार गरिएका महिलाका अनुसार उनीहरुलाई आज भोली भन्दै उक्त कोठाबाट बाहिर जान नदिई बन्धक बनाएर राखिएको र हाल आफन्त नेपालको सहयोगमा उद्धार हुन पाउँदा खुशी लागेको बताएका छन्।

झापा, दाङ, धादिङ, सुनसरी र रुपन्देही घर भएका १० नेपाली महिलाहरुलाई खाडी मुलुक पुर्याउने योजना दलालको रहेको थियो। घरको आर्थिक अवस्था कमजोर भएको र छोराछोरीको उज्वल भविष्यको कल्पना गरेर घरबाट निस्किएका २२ देखि ३९ उमेर समूहका रहेका छन्।

उनीहरुले छिटो भन्दा छिटो घर फर्किएर आफ्नो परिवार भेटी परिवारसंगै बस्ने बताएका छन्। उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानूनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट मुद्दा लगायतका कानूनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्