देशका विभिन्न ९ स्थानमा भीषण आगलागी, करोडौंको क्षति

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, २९ बैशाख । करिब १४ घण्टाको अवधिमा देशका विभिन्न ९ स्थानमा आगलागी हुँदा १ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार २ बजेदेखि आइतबार ४ बजेसम्मको सो अवधिमा बर्दिया, अर्घाखाँची, भक्तपुर, प्युठान, दाङ, कपिलवस्तु र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये बर्दिया गुलरिया नगरपालिका १० झगडु पुरुवागाउँ मजिदियाघाटस्थित रमन स्काई कन्ट्रक्सन प्रालिका कामदारले तरकारी पकाउने क्रममा ३ वटा त्रिपालले बनेको घरमा आगलागी हुँदा करिब २ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी बर्दिया बारबर्दिया नगरपालिका ६ जयपुर बस्ने सुधनी थारुको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा घर जलेर करिब ३ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी अर्घाखाँची भूमिकास्थान नगरपालिका ५ हाडीखान बस्ने छविलाल बिकको घरमा आगलागी भई उक्त आगो सोही ठाउँ बस्ने चन्द्र बहादुर बिकको गोठमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ जलेर करिब ८ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भऐको छ ।

यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका ५ गैडागाउँ बस्ने ५० वर्षीय बिष्णु भक्त दथेपुथेको टहरामा आगलागी हुँदा टहरा र नगद १ लाख रुपैयाँ समेत जलेर करिब ९ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्युठान गौमुखी गाउँपालिका ४ मस्तथान उनीचौर बस्ने हरि बहादुर केसीको गोठमा आगलागी हुँदा करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दाङ राप्ती गाउँपालिका ५ चित्रकोट लोसे बस्ने ७० वर्षीय नबराज थापा मगरको घरमा आगलागी हुँदा उक्त आगो २ वटा गोठमा समेत फैलिएर घर र २ वटा गोठ समेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भऐको छ । साथै दाङ घोराही उपमहानगरपालिका ५ बसन्तपुर बस्ने मान बहादुर चौधरीको घरमा आगलागी हुँदा घर र नगद १ लाख ५० हजार रुपैयाँ समेत जलेर करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका १ बैरियास्थित कैष्ण बहादुर सुनारको घरमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै सप्तरी खड्क नगरपालिका ७ बस्ने सत्य नारायण अग्रवालको घरमा रहेको बस्त्रालयको सटरभित्र पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा घर, नगद र लत्ताकपडा समेत जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानमा आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्