अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका विषयमा सरकार जिम्मेवार छ : मन्त्री चौधरी

bhagwati-chaudhari
लोकपाटी न्यूज

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपांगता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताएकी छन्। आज यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढीभन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको बताएकी हुन्। उनले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि हामी लागिरहेको बताइन्।

‘हामी आफैले पनि अपाङ्गता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौं। देशभर भएका सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौं। त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौं,’ मन्त्री चौधरीले भनिन्, ‘यी कुराहरू यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग गर्‍यो भने। स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ।’

मन्त्रालयले नयाँ योजना, नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आएको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा पनि सरकार जिम्मेवार रहेको विश्वास दिलाइन्। मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन्। यस वर्ष पाइलट प्रोजेक्टका रूपमा केही ठाउँबाट सुरु गरिने उनले बताइन्।

यसैगरी मन्त्री चौधरीले पूर्णरूपमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्ने विषय अहिले जोडतोडले उठेको भन्दै त्यसलाई समाधान गर्न अहिले केही व्यक्तिलाई सहयोगी उपलब्ध गराउने तयारी गरिएको बताइन्। ‘अहिले ११ जनाका निम्ति सांकेतिक रूपमा सहयोग गर्ने कार्य अगाडि बढाएका छौं। बाँकी व्यक्तिहरूका निम्ति कार्यविधि बनाएर अगाडि बढ्छौं,’ उनले भनिन्, ‘अर्थ मन्त्रालयमा फाइल पठाएका छौं। त्यो सुविधा दिनुपर्ने सम्पूर्णलाई सुविधा दिँदा प्रत्येक वर्ष करिब ६८ अर्ब पैसा चाहिने रहेछ। वार्षिक त्यति पैसा दिनुभनेको राज्यका निम्ति गाह्रो विषय पनि हो। तर त्यसलाई कसरी गर्न खोजिन्छ भनेर विकल्पहरूको खोजी हामीले गरिरहेका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्