६ संसदीय समितिको बैठक बस्दै

samsadiye meeting
लोकपाटी न्यूज

काठमाडौं। आज (शुक्रबार) संसदका ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका रहेको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ। त्यसैगरी, साढे ११ बजे नै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावारमाथि छलफल गर्नेछ।

साथै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ११ बजेका लागि बैठक बोलाएको छ। बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यावसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा गृह, अर्थ, कृषि तथा पशुपंक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीरसचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग छलफल हुने बताइएको छ।

११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन–२०८० मा छलफल गर्ने कार्यसूची राखेको छ। आज बस्ने बैठकमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ। साथसाथै, सार्वजनिक लेखा समितिको २६औं बैठक पनि आजै बस्दैछ। बैठक साढे ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्