देशभरका अस्पतालमा जनशक्ति थप्न प्रक्रिया अघि बढेको छ : स्वास्थ्यमन्त्री

Pradip_Yadav
लोकपाटी न्यूज

चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। आज यहाँ पत्रकारसँग उनले जनताले प्रत्यक्ष राहत पाउने यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय लागिपरेको बताएका हुन्।

मन्त्री यादवले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने जानकारी दिए। बिमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताए।

मन्त्री यादवले भने, ‘स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं। कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौं।’ बिमा कार्यक्रमलाई मन्त्रालय मातहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यस विषयमा छलफल भइरहेको जानकारी दिए।

जनशक्ति अभाव भएका अस्पतालहरूमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उनले बताए। मन्त्री यादवले भने, ‘देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ। त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ।’ आवश्यकता अनुसार अस्पतालहरूले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ छ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताए। उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए। मन्त्री यादवले भने, ‘अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या हुँदैन। सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्न वा अन्यन्त्र पठाउन सकिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्