मतदाता नामावली आज प्रकाशन गर्ने नेकपा एसको तयरी

yakikrit_Samajbadi
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ। यही असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण प्रकाशन गर्न लागिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ। योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ।

बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिए लगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ। सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ। देशभर एक लाख पचास हजार संगठित सदस्य रहेको पार्टीले एक सय २५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ। आसन्न राष्ट्रिय महाधिवेशनमा संगठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनोट गरिने छ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ। विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन्। दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ। पार्टी निकट जनवर्गीय संगठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ।