प्रत्येक नागरिकलाई राजनीति र संघीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छे

Narayanman Bijukchhe
लोकपाटी न्यूज

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशका प्रत्येक नागरिकलाई राजनीति र संघीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

कानुन अध्ययन समाजले भक्तपुरमा आज आयोजना गरेको ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उनले तीन वटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र संघीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याए।

राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उनले संसद् सदस्यहरूले ठेक्का-पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गरे। नेता बिजुक्छेले भने, ‘संसद् सदस्य ठेक्का-पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरूले त नीति बनाउनुपर्ने हो। नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको हो।’

देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उनले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गरे।

समाजका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायत्तता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रूपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गरे।