दूध किसानको भुक्तानी तत्काल गरियोस् : महेश बर्तौला

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरूको भुक्तानी बक्यौता अविलम्ब उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख सचेतक बर्तौलाले दूधको रकम भुक्तानी नपाउँदा किसान पीडित भएको बताएका हुन्।

उनले किसानहरूको माग जायज भएको बताए। उनले भने, ‘उहाँहरूले दूध बेच्नुभयो। सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरूलाई बेच्नुभयो। दूध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे। सरकारबाट झन्डै २ अर्ब रुपैयाँ किसानहरूले रकम प्राप्त गर्नुपर्नेछ। निजीबाट झन्डै ३ अर्ब छ। ६ लाख किसानहरूको दूधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ। उहाँहरू भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ। दूधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त गराइयोस्। भुक्तानी गरियोस्।’

संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको उनले बताए। सचेतक बर्तौलाले आन्दोलनको क्रममा किसानहरूमाथि प्रहरीले गरेको व्यवहार मर्यादित नभएको बताए। संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गर्न पाउने नागरिकहरूको अधिकारलाई सुनिश्चित गर्ने विषयमा राज्य चुक्न नहुने उनको भनाई थियो। शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू राख्न पाउने विषयमा संवैधानिक हकको अधिकार भएको उनले बताए।

‘यो देशका झन्डै ६ लाख भन्दा बढी किसानले विशेष गरी दूध किसानहरूले आफूले बेचेको दूधको रकम भुक्तानी पाउँ भनेर आजदेखि काठमाडौंमा आन्दोलन सुरु गर्नुभएको छ। आज बिहानदेखि उहाँहरूले आन्दोलनका कार्यक्रम अघि बढाउनु भयो। यो आन्दोलनका कार्यक्रम उहाँहरूले अपर्झट कसैलाई थाहा नदिई गरेको होइन। प्रशासनलाई, गृह प्रशासनलाई जानकारी दिएर सूचना गरेर यो ठाउँमा कार्यक्रम गर्छु भनेर अनुमति लिएर उहाँहरूले धर्ना गर्दै हुनुहुन्थ्यो। दूध किसानहरूले काठमाडौंको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘प्रहरीहरूको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरूलाई गिरफ्तार गर्‍यो। उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्