तनहुँ। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिक रूपमा खुला गरिएको छ। बन्दीपुर गाउँपालिका-४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिक रूपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ।
समितिका अध्यक्ष आनन्दमान जोशीले लामो समयको प्रयासपछि मन्दिर सबैका लागि खुला गर्ने निर्णय गरिएको जानकारी दिए। करिब छ सय वर्षभन्दा पुरानो दाबी गरिएको यस मन्दिरमा कामी, मगर र बाहुन गरी तीन पुजारी रहेकाले जातीय सहिष्णुताको प्रतीक मानिने गरेको छ।
यहाँ हिन्दू धर्मावलम्बीले भगवान् मान्ने गरिएका शिवजीले राजा मणिमुकुन्द सेनलाई तरबार दिएकामा सेनले एक बह्माणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र तरबारले नागको रूप लिएको जनविश्वास छ। नागले परिक्रमा गरिरहेको बेला धार्मिक अनुष्ठान गरिएको र नागले पुनः तरबारको रूप धारण गरी उडेर बन्दीपुर डाँडामा खसेको, भगवान् शिवजीको सन्देशस्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको किंवदन्ती छ।
यहाँका बन्दीपुरेले इष्ट देवताको रूपमा पुजिने देवीको यो मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो। केही समय जमिन छोडेर हावामा सयर गरेर मन्दिर दर्शन गर्दा चिताएको मनोकांक्षा पूरा हुने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ। विशेष गरी सेना, प्रहरी र फलामसम्बन्धी कार्य गर्नेका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताए।
मन्दिर बिहान ७ देखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले बताए। यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अंकित झल्लरमा उल्लेख छ। मन्दिरमा पूजाआजाका लागि विसं १९१६ मा एक गुठीको स्थापना गरी सञ्चालन गरिएको ‘नेपाल अधिराज्यमा तनहुँ’ नामक डिल्लीराम मिश्रद्वारा लिखित पुस्तकमा उल्लेख छ।
खड्गदेवी मन्दिरमा हरेक दशैँको फूलपातीका दिन विशेष मेला लाग्छ। मन्दिरको खड्गलाई शोभायात्रासहित बजार परिक्रमा गरिन्छ। मन्दिर पहिले ढुङ्गैढुङ्गाबाट निर्माण गरिएको थियो। पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो। अहिले भने यहाँ तामाको छाना रहेको छ। मन्दिर दर्शनको लागि केबलकार चोकदेखि मन्दिरसम्म केबलकारमा सवार गरी सहज ढंगले दर्शनार्थीले देवीको दर्शन गर्न पाउनेछन्।