पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जान्छन् : मन्त्री चौधरी

Bhagawati_Chaudhari
लोकपाटी न्यूज

इटहरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन्। एमाले इटहरी नगर कमिटीको नवौं नगर अधिवेशनमा पार्टी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री चौधरीले सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो। पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो। अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन्। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन्।

‘हामी नेकपा एमाले हौं। हामी सबैको एउटै आँगन हो। हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि। विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्, ‘एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पुरा हुन सक्छन्। अब हामी कम्तीमा ५१ प्रतिशत जित्ने गरी स्थानीय, प्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ। हाम्रो भोलीको लक्ष्य दुई तिहाइ हो। तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नका लागि लाग्नुपर्छ।’

पार्टीभित्र कसैलाई पनि निषेध गर्ने गरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताइन्। एउटै आंगन, एउटै क्षेत्र, एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन २०८४ लाई सहयोग गर्ने उनको विश्वास थियो।