भरतपुरको नीति तथा कार्यक्रम : हरियाली प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता

लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिकाले हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्ने भएको छ। पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गर्न लागिएको बताइन्।

‘भरतपुर महानगर: हरियाली तथा स्वच्छ शहर’ अवधारणालाई सार्थक बनाउन हरियाली प्रवर्धनका कार्यक्रमलाई तीव्रता दिइने प्रमुख दाहालले बताइन्। बाइपास रोड र पुल्चोक गोन्द्राङ ६ लेन सडकलाई हरित नमूना सडकको रूपमा विकास गरिने आज प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।

‘एक घर, दुई रूखको नीति’लाई घर निर्माण सम्पन्न प्रक्रियामै अनिवार्य समावेश गरी प्रभावकारी कार्यान्वयन गरिने छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई मागको आधारमा निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने बताइन्।

निजी क्षेत्र र सामाजिक संघसंस्थासँगको साझेदारीमा सडक तथा नदी किनार र सार्वजनिक जग्गामा वृक्षारोपण गर्न एवम् बिरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। फोहोर व्यवस्थापन, हरियाली प्रवर्धन एवम् सौन्दर्यीकरण गर्न सामाजिक संघ संस्था/टोल विकास संस्था/वडाहरूलाई प्रतिस्पर्धी बनाउने नीति लिँदै सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति महानगरले लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्