काँग्रेसमा योगदान दिएका पात्रहरूलाई खोजौं : महामन्त्री थापा

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा योगदान दिएका पात्रहरूलाई खोजी गर्नुपर्ने बताएका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रम काँग्रेसभित्रको फोहोर सफा गर्नको निम्ति पनि काँग्रेसले पार्टीमा योगदान गरेका पात्रहरूलाई गाउँगाउँबाट खोज्न आवश्यक रहेको बताएका हुन्।

महामन्त्री थापाले भने, ‘हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरूलाई खोजी खोजीकन ल्याउनुपर्छ। नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँगाउँबाट खोज्न आवश्यक छ। किन पनि भने काँग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ।’

उनले काँग्रेसभित्र सफा गर्नुपर्ने ठाउँ धेरै रहेको बताए। फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा नहुने उनले बताए। सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

महामन्त्री थापाले भने, ‘काँग्रेसभित्रको फोहोर थोरै छ। काँग्रेसभित्रको सफाको अंश धेरै छ। तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो। फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ।’ उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए।

उनले भने, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएकोजस्तो भएको छ। त्यो मिसन हराएकोजस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ। अरू राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौं।’