१३ करोडभन्दा बढी रकम ठगीको आरोपमा ६ जना पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य र ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरञ्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्