कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्छ : गगन थापा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस अब आगामी चुनावसम्म सरकार बनाउने र भत्काउने खेलतिर लाग्न नहुने बताएका छन्। काठमाडौंमा आज नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन आग्रह गरे।

महामन्त्री थापाले भने, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ। एमाले, माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिऊँ। चलाउन्। सरकारतिर हामी हेर्दै नहेरौं।’ उनले २०८४ पछि एकल सरकार चलाउने लक्ष्यका साथ पार्टी निर्माणमा लाग्न आग्रह गरे। काँग्रेसले आगामी निर्वाचनमा कम्तीमा प्रत्यक्षतर्फ एक सय सिट र समानुपातिकतर्फ चालिस प्रतिशत मत ल्याउनेगरि अगाडि बढ्न उनले अपिल गरे।

उनले भनेका छन्, ‘यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौं कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ। तलैबाट पार्टीको एकता पनि गरौं। हार्दिकता पनि बनाऔं।’ उनले पार्टीमा आन्तरिक एकता कायम गरेर अघि बढे काँग्रेसले एकल सरकार चलाउने मात्रै नभई संविधानलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने तागत राख्ने महामन्त्री थापाले बताए।