राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरे।

उपविदेशमन्त्री सुन नेपाल-चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा छन्।