देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध छ : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उनले देशको आवश्यकता र अति जरुरी सिद्धान्तका रुपमा जबज रहेको बताएका हुन्।

जबजले अहिले पनि मार्गदर्शन गरिरहेको भन्दै पार्टीले अहिले जबजलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनको भनाइ छ। उनले देश, जनताको समस्या समाधानप्रति जबज प्रतिबद्ध रहेको धारणा राखे। अध्यक्ष ओलीले जनताका हितलाई सुनिश्चित गर्ने अनुकूल परिस्थिति प्रदान गर्ने प्रयास नै जबज रहेको बताए।

मदन भण्डारीको अगुवाइमा एमालेले जबज प्रतिपादन गरेको उल्लेख गर्दै जबज संघर्षको अनुभवबाट निस्केको निष्कर्ष रहेको उनको धारणा थियो। देशको राजनीति र विकासको अवस्थालाई उन्नत स्थितिमा पुर्‍याउन, आधुनिकतालाई उन्नत आधुनिकीकरणमा पुर्‍याउन, अर्थतन्त्रलाई माथिल्लो स्तरमा लैजान र शासक प्रशासकलाई उच्चस्तर बनाउने काम जबजले गरेको उनको जिकिर थियो।

उनले भने, ‘हाम्रो समाजमा रहेका विकृति-विसङ्गतिलाई हटाउँदै सुन्दर, समानतायुक्त, न्याययुक्त समाज, सांस्कृतिक हिसाबले उन्नत र सुसंस्कृत, मानवीय समाजमा लैजाने भन्ने कुरा जबजमा छ।’ उनले नेपालको भूराजनीतिक विषयमा दुई ठूला मित्र राष्ट्रसँगको सम्बन्धलाई सदुपयोग गर्नुपर्ने धारणा राखे।

‘हाम्रो मित्र हुन् भन्ने ठानेर हामीले हाम्रो रुचिका विषयबारे खुलस्त कुरा गर्नुपर्दछ,’ उनले भने, ‘हाम्रो रुचि यो हो हाम्रो जायज माग यो हो भनेर कुरा गर्नुपर्दछ र हामी यस्तो धारणा राख्दछौं, हाम्रो कुरा सही छ भनेर भन्नुपर्दछ।