गुल्मी र स्याङ्जामा पहिरोमा पुरिँदा पाँच जनाको मृत्यु

pahiro
फाइल : तस्वीर
लोकपाटी न्यूज

गुल्मी। गुल्मीमा शुक्रबारराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्।मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन्।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ। सुन्तली र विपनाको अवस्था भने अज्ञात छ। इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ। स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।

यस्तै स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ। गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो। पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ। ३१ वर्षीय दुर्गा र उनकी छोरी निकिसाको घटनास्थलमै मृत्यु भएको छ। पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसी समेत मरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्