पार्टीले अघि सारेको नीतिअनुसार नेतृत्व चयन हुनेछ : नेता खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीले अघि सारेको नीतिअनुसार नेतृत्व चयन हुने बताएका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनले निकाल्ने निष्कर्षलाई लागु गर्न सक्ने र सम्पूर्ण प्रतिनिधिको भावनालाई प्रतिनिधित्व गर्न सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।

नेता खनालले महाधिवेशनबाट सर्वसहमत नेतृत्व चयन हुने बताए। ‘महाधिवेशन एउटा महासभा हो। यो महासभामा जुन प्रकारको नीति पास गर्नेछौं। स्वाभाविक रूपले अब नेतृत्व त्यही ढंगले निर्माण गर्नुपर्नेछ,’ उनले भनेका छन्, ‘हामीले जसरी दस्ताबेजहरू सहमतिका साथ निर्माण गरेका छौं। महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु। आउने महाधिवेशनबाट निर्माण गरिने नेतृत्व पनि सर्वसहमतिबाट हुनेछ।’

सर्वसम्मत नहुने अवस्थामा हामी लोकतान्त्रिक पद्धति द्वारा हामी अन्तिम टुंगोमा पुग्ने उनले बताए। नेता खनालले शीर्ष नेताहरुबीच कुनै समस्या नरहेको पनि प्रष्ट पारे। नेताहरुबीच बहस हुन सामान्य र स्वाभाविक भएको उनको भनाई छ। बहसले नै समस्याको हल खोज्ने उनले बताए। उनले भने, ‘हामी नेताहरूको बिचमा कुनै समस्या छैन। हामी बहस गर्छौं। कम्युनिष्ट पार्टीका नेताहरूमा बहस हुने कुरा सामान्य हो। बहस हुन्छन्। बहस नगरी कसरी समस्या निर्मूल गर्ने ?’

नेता खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको स्पष्ट पारे। महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए। उनले भने, ‘मलाई गुटबन्दीको कुरा आउँदैन। माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन। कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौं, त्यो घरमा होला, रेस्टुरेन्टमा होला। महाधिवेशनअघि यस्तो सामान्य हो। तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो।’