जनताको नेतृत्व गर्न नसक्ने यथास्थितिलाई संरक्षण गर्न हुँदैन : महासचिव विप्लव

biplav
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्। नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशनमा उनले समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताएका हुन्।

महासचिव विप्लवले भने, ‘हरेक परिवर्तन निश्चित ठाउँमा पुगेपछि यथास्थितिमा बदलिन्छ। त्यसले जनताको नेतृत्व गर्न सकेन भने त्यसलाई उखालेर फ्याँक्ने स्थिति आउँछ। त्यसैले यथास्थितिलाई हामीले संरक्षण गर्न हुँदैन।’ उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठुलो दबाबमा रहेको धारणा पनि राखे।

नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको महासचिव विप्लवको भनाई थियो। ‘नेपाल पेचिलो अवस्थामा उभिएको छ। भूराजनीतिक हिसाबले ठूलो दबाबमा छ भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको छ। जियोपोलिटिक्समा युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिरहेको देख्छौं।’

उनले नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै रहेको पनि बताए। महासचिव विप्लवले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए। ‘नेपालका मजदुर किसानहरू, जाति जनजातिहरू, मधेस, पहाड, महिला, श्रमिक समुदाय, दलितहरू, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरू छन्, यी सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन्। उनीहरूका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन,’ उनले भने ।