शीर्ष नेताबीच संवाद हुनु राम्रो कुरा हो : सांसद सापकोटा

Madhav_Sapkota
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवाद हुनु राम्रो कुरा भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समयमा बोल्दै सांसद सापकोटाले ठूला नेताबीचको राजनीतिक तिक्तताले मुलुकको समस्या समाधान हुन नसक्ने विश्वास व्यक्त गरे।

नेताहरुबीचको सहमति तथा सहकार्यले मुलुकको हित र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन मद्दत पुग्ने उनको भनाई थियो। ‘सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु राम्रो कुरा हो,’ सांसद सापकोटाले भने, ‘जोडदारपूर्वक मुद्दा र अडान राख्ने, परिआउँदा फेरि एकताबद्ध भएर राष्ट्रका संकटहरुलाई हल गर्ने संस्कार छ।’

उनले शीर्ष नेताहरूबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताए। सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने जिकिर गरे। उनले भने, ‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुई जना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने। सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन।’

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो निष्कर्षमा पुर्‍याउन सभामुखमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्