गृहमन्त्री लामिछानेको प्रश्न : संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ?

Rabi Lamichane
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूले फाइल खोलेपछि कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो भनेर प्रश्न गरेका छन्।

मंगलबार सिंहदरबारमा भएको पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो भन्दै प्रश्न गरे। सुशासनका लागि केही मानिसहरु पक्राउ गर्दा देशलाई संकट नपर्ने भन्दै उनले नेपाली जनतालाई यसलाई राम्रोसँग बुझेर मूल्याङ्कन गर्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।

उनले भने, ‘फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो। यसलाई के भन्नु र मैले। बेचैनीको अर्को के अर्थ होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ?’