पर्यटन क्षेत्रको विकासका लागि राज्य, नीजी क्षेत्र र व्यसायीहरु साझा संकल्पका साथ अघि बढ्नु पर्छ : मन्त्री तामाङ

Hit -bahadur - tamang
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपालको अर्थतन्त्रको विकासमा पर्यटन क्षेत्र महत्वपूर्ण मेरुदण्ड भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ८ औं राष्ट्रिय टुरगाईड सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री तामाङले यसको विकासका लागि राज्य, निजी क्षेत्र र व्यवसायीहरु साझा संकल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिए।

उनले नेपालमा पर्यटन व्यवसायलाई सबै पक्ष मिलेर अघि बढेमा माथि पुर्याउन सकिने विस्वास व्यक्त गरे। उनले प्रकाशशरण महतले अर्थमन्त्री हुँदा आर्थिक वर्ष ८०/८१ मा लगाएको अतिरिक्त कर सहित विभिन्न करहरु हटाउन आफूले मन्त्री परिषद्मा ठाडो प्रस्ताव लगेको जानकारी दिँदै अर्थमन्त्रीले कर विज्ञहरुसँग छलफल गर्नु पर्ने भनेकाले पारित भने हुन बाँकी रहेको बताए।

पर्यटन ऐन शंसोधनका लागि विधेयक पनि प्रकृयागत रुपमा अघि बढीसकेको जानकारी दिँदै यो छलफल पछि पारित हुने जानकारी दिए। मन्त्री तामाङले देशमा राजनीतिक स्थिरता नभए सम्म व्यवसायिक, प्रशासनिक वा कुनै पनि क्षेत्रले गति लिन नसक्ने बताए।

आफूले पर्यटन क्षेत्रको विकासका लागि निकै महत्व दिएको भन्दै मन्त्री तामाङले राज्यको लगानी गर्न नसकेको, सोचे जति पर्यटक भित्र्याउन नसकिएको र देशले अपेक्षित लाभ लिन पनि नसकेको भन्दै यसबारेमा गम्भीर भएर अघि बढ्न उनले सबै पक्षलाई अपील गरे।