क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर बजेट तर्जुमा गरिएको छ : मन्त्री तामाङ

Hit -bahadur - tamang
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले निगमको सञ्चालन र व्यस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदनअनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिए। मन्त्री तमाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन अनुरुप काम गर्न लागिरहेको बताए।

पर्यटनमन्त्री तामाङले क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर मन्त्रालयले कार्यक्रमको माग, औचित्य र आवश्यकताका आधारमा बजेट तर्जुमा गरिएको बताए। उनले संवैधानिक व्यवस्था अनुरुप समावेशी रुपमा सबै भाषा र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताए। संस्कृत भाषाको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरेको भन्दै मन्त्री तामाङले नेपालका सबै भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्चनतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि निर्देशिका जारी गरिएको तथा पशुतिनाथको मूर्ति सार्वजनिक गर्न मिल्ने नमिल्ने विषयमा मन्दिरको परम्परालाई समेत आधार मानेर आवश्यक निर्णय गरिने बताए। धार्मिक पर्यटनको हिसाबले अत्यन्त महत्वपूर्ण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको तथा रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने लगायतका कार्यक्रम यस वर्षको बजेटबाट अघि सारिएको उल्लेख गरे।