रास्वपाले बोलायो संसदीय दलको बैठक

Raswopa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान साढे ९ बजे बस्ने गरी बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिइन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने उनले बताइन्। भोली बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि रास्वपाको संसदीय दलको बैठक बस्न लागेको हो।

नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिँदै काँग्रेससँग नयाँ सत्ता समीकरणको लागि सहमति गरेको छ। यता प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने, संसद् ‘फेस’ गर्ने गरी अघि बढेका छन्। प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने लिँदै छन्।