सप्तकोशीमा बाढी, ब्यारेजका ५६ वटै ढोका खोलिए

लोकपाटी न्यूज

धरान। सप्तकोशीमा पानीको बहाब निरन्तर बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन्। आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्न थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ। बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो। सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ।

सप्तकोशीमा गत वर्ष पानीको बहाव ४ लाख ४० हजार क्यूसेक पुगेर ३४ वर्षयताकै उच्च तहमा पुगेको थियो। यसअघि विस १९८९ मा सप्तकोशीको बहाव ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्