बेचन झा पक्राउ परेपछि सरकार परिवर्तनको खेल सुरु भयो : सांसद सापकोटा

Madhav_Sapkota
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली काँग्रेस र नेकपा (एमाले)को समीकरणले मुलुकलाई स्थिरता नदिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल सुरु भएको दाबी गरे।

एमाले-कांग्रेसलाई उनले भने, ‘गिरिबन्धु टी-स्टेट र बेचन झाको बेचैन रिपोर्टहरू आएपछि आत्तिएर जसरी भागदौड सुरु गर्नुभएको छ। यसलाई विषयान्तर गर्न संविधान संशोनको कुरा गरिराख्नुभएको छ।’ होइन भने संविधानको सबैभन्दा राम्रो पक्ष मानिएको समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि धावा बोल्ने वा संशोधन गर्नुपर्ने कुनै कारण नरहेको सांसद सापकोटाले बताए।

‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो,’ उनले भने, ‘संसदीय अभ्यासले ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठूलो दल वेटेङि गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने। तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो। त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन।’ उनले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्