काँग्रेस-एमालेलाई झाको जवाफ : तपाईंहरूले बनाएको संविधानको अभ्यास गर्दैछौं

Manish_Jha
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकारले संविधानले दिएको अधिकारको प्रयोग गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद झाले संविधानले विश्वास मतको लागि प्रयास गर्न समय दिएकोले सोहीअनुसार सरकार अघि बढेको बताएका हुन्।

संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएको भन्दै उनले प्रश्न उठाए। व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरूका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने उनको जिकिर छ।

‘हामीहरूले अध्यास एउटा गर्छौं। नेताहरूले अर्कै अभ्यास गर्नुहुन्छ। कुनै व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नुहुन्छ। अनि यहाँ आएर उहाँकै सांसदहरूले नैतिकताको प्रश्न हामीलाई गर्नुहुन्छ,’ उनले भनेका छन्, ‘संविधानले ३० दिनमा विश्वासको प्रयास गर्न पाउँछ भनी लिएको छ। यो कुराको व्याख्या किन बिर्सिनु भएको ? समय त संविधानले दिएकै छ त। त्यो संविधान तपाईंहरुको नेताहरूले लेखेको हो। हामी त्यही संविधानको अभ्यास गर्दैछौं।’

प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि नेपाली काँग्रेस र नेकपा एमाले डराएका सांसद झाको भनाई छ। उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे।