विपद्का घटनामा हालसम्म ७८ को मृत्यु, १० करोड बढीको क्षति

Bagmati_Badi
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। विपद्का घटनाहरूबाट हालसम्म ७८ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाको मृत्यु भएको हो।

प्रहरीअनुसार गत जेठ २८ गतेदेखि हालसम्म बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको छ।

साथै बाढी पहिरो परेर ८८ जना घाइते भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन्। स्थानीय अस्पतालमा घाइतेहरूको उपचार गरिएको थियो।

त्यस्तै बाढी पहिरो परेका कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले भनेको छ।

बाढी पहिरोका कारण तीन सय ८१ पशु चौपायाको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन्। विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ। बाढी पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्