बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल भयो : सांसद ढकाल

Hari_Dhakal_pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र आर्थिक समस्या देखिएको बताएका छन्। प्रतिनिधिसभा आजको बैठकमा उनले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्त्वपूर्ण रहे पनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक-पटक समस्यामा परेको बताएका हुन्।

मुलुकलाई बर्बाद पार्ने काम ठुला दलहरूले गरेको उनको आरोप छ। सांसद ढकालले काँग्रेस-एमाले नेतृत्वले विपद्का यो बेला पनि सरकारलाई कामै गर्न नदिएको पनि आरोप लगाए। उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले सुरु गरेपछि नयाँ सत्ता समीकरण बनाएको दाबी गरे।

‘हामी आउँदै छौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ। यो चाहिँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल किन ?,’ उनले भने।

ढकालले सरकार परिवर्तन हुँदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरूले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए।