आगलागीबाट करिब ११ करोडको क्षति

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, ०२ जेठ । करिब १३ घण्टाको अवधिमा देशका ६ स्थानमा आगलागी हुँदा करिब १० करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार दिउँसो १३ः५० बजेदेखि बिहीबार २ः३० सम्मको सो अवधिमा ललितपुर, पाचँथर, कपिलवस्तु, कन्चनपुर, रुपन्देही र दोलखामा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये ललितपुर गोदावरी नगरपालिका १२ थेचोस्थित ऋषिराम घिमिरेले संचालन गरेको आरके कार्पेट एण्ड ह्यान्डीक्राफट प्रा।लि उद्योगमा ग्याँस लिक भई आगलागी हुँदा उद्योग जलेर करिब २ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी पाचँथर फालेलुङ गाउपालिका ५ हात्तिखेम्बा बस्ने मन बहादुर मगरको घरमा आगलागी हुँदा घर र १ लाख रुपैयाँ समेत जलेर करिब ९ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु शिवराज नगरपालिका ६ बिरपुर बस्ने अर्जुन चौधरीको उखु बारीमा सोही ठाउँ बस्ने श्यामलाल चौधरीको खेतमा रहेको गहुको ठुटाबाट आगो सल्किएर आगलागी हुँदा करिब ५ लाख बराबरको उखु जलेर नष्ट भऐको छ । यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका–१४ शान्ति टोल बस्ने धन बहादुर बोहराको गोठमा आगलागी हुँदा करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी रुपन्देही बुटवल उपमहानगरपालिका–६ सङ्गमपथस्थित सोही उपमहानगरपालिका–९ चादमारी बस्ने राजु श्रेष्ठले संचालन गरेको गुल्मी रेसुङ्गा ट्रेडर्स (झोला पसल) र सोही उपमहानगरपालिका–६ आदर्शनगर बस्ने उमेशचन्द्र गुप्ताले संचालन गरेको सगरमाथा ब्याग हाउसमा करेन्ट सर्ट भई आगलागी हुँदा दुवै पसल जलेर करिब १ करोड १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी दोलखा भिमेश्वर नगरपालिका–३ चरीकोट बसपार्कस्थित तुन बहादुर खत्रीको घरमा रहेको त्रिपुरारिहान टायर रिसोलिङग सेन्टरमा करेन्ट सर्ट भई आगलागी हुँदा घर जलेर करिब ७ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्