चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं। अभिनेता बिराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। असोज २४ गते रिलिज हुने चलचित्रको आज ट्रेलर सार्वजनिक भएको हो। ट्रेलर एक्सनपूर्ण सिनले भरिएको छ।

अभिनेता बिराज भट्ट र यही चलचित्रबाट डेब्यु गरेका समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन्। बिराज र समीर बुवा छोरा हुन्। ट्रेलरमा प्रेम र पीडाको पनि सम्मिश्रण छ। १२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न बिराज र समीरले गरेको सङ्घर्षको कथावस्तुमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ।

बिराजलाई बाघको रुपमा चित्रित गरिएको छ। एक्सन र संवाद हाबी रहेको ट्रेलरको अन्तिममा समीर ‘सिक्स प्याक एब्स’ देखाउँदै प्रस्तुत छन्। एक्सनप्रति रुचि हुने दर्शकलाई चलचित्रले आकर्षित गर्न सक्ने देखिन्छ।

बिराज र समीर पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘१२ गाउँ’को ठूलो प्रतीक्षा छ। चलचित्रमा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शङ्कर ‘इकु’, भीष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ।

फिल्ममा महेश पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र निरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने बिराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन्। उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्