धनराज जोडिएको सहकारी ठगी प्रकरणमा दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस

CIB
लोकपाटी न्यूज

काठमाडौं। ललितपुरको मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ।

सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को–ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ। सीआईबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।

त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ। बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ। सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङविरुद्ध भने अझैसम्म अनुसन्धान अघि बढिसकेको छैन।

सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ। उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय बाहिरिइसकेको छ। मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्