विद्यार्थी आन्दोलनबाट देशले चाहेको जस्तो नेता जन्मनु पर्छ : नेता कुँवर

pic
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सुदिप कुँवरले विद्यार्थी आन्दोलनबाट नै देश र जनताले चाहेको जस्तो नेता जन्मन सक्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९ क्रान्तिकारी० पर्वतको प्रथम बैठकलाई सम्बोधन गर्दै कुँवरले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्र पर्वतको पार्टी कार्यालय लभ्ली डाँडामा आयोजित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कुँवरले विद्यार्थी आन्दोलनले मुलुक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै देशमा व्यवहारिक र वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने बताए।

अबको शिक्षा पढ्दै कमाउँदै हुनुपर्ने भन्दै कुँवरले बुर्जुवा कोरा सैद्धान्तिक ज्ञानले मात्र सिकारु पूर्ण नहुने बताए। कुँवरले दलाल नोकरहरू र भ्रष्ट्राचारीविरुद्ध जेहाद छेड्दै सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अखिल क्रान्तिकारीहरू एकजुट भएर लाग्नुपर्ने बताए। देशमा समावेशिता सङ्घीयता, महिला, अल्पसङ्ख्यक जनजाति, मधेसी ,मुस्लिम लगातका पिछडिएका वर्ग र समुदायका अधिकारहरू मास्ने खेलमा केही तत्त्वहरू लागि परेको भन्दै आक्रोश व्यक्त गर्दै जनताका अधिकार कसैले खोस्न नसक्नेमा कुँवरले जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्र पर्वतका पूर्व जिल्ला संयोजक केशव कुँवर सृजनशीलले विद्यार्थीहरूका हकहितसंगै निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनका लागि दृढतापूर्वक सशक्त रुपमा लाग्नुपर्ने बताए। यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव विजयप्रकाश सापकोटाले देशमा रहेका शैक्षिक संस्थाहरू बेरोजगार युवाहरू उत्पादन गर्ने भट्टी जस्तै भइरहेको समयमा जनमुखी प्राविधिक तथा व्यवहारिक शिक्षा नीति स्थापना गर्न अखिल क्रान्तिकारी जुनसुकै मुल्य चुकाउन पछि नपर्ने बताए ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेशका अध्यक्ष त्रिदेव गुरुङले शैक्षिक क्षेत्रमा देखिएका विकृति विसङ्गतिका विरुद्धमा अखिल क्रान्तिकारी स्थापना कालदेखि लडिरहेको बताउँदै परिवर्तनकारी विद्यार्थीहरू क्रान्तिकारीको लाल झन्डामा गोलबन्द भएर लाग्नुपर्नेमा जोड दिए।

यस्तै नेकपा माओवादी केन्द्र पर्वत काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष अशोक पौडेलले देशको पछिल्लो राजनैतिक व्यवस्था, सङ्घीयता लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्ध र आन्दोलनको जगबाट स्थापित भएकोमा दुई मत नरहेको भन्दै अखिल क्रान्तिकारीको आन्दोलनलाई जुनसुकै बेला साथ र सहयोग गर्न तयार भएको जिकिर गरे।

बैठकमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष निर्मल पौडेलले विगतका दिनहरूमा बन्दुक र गोली बोकेर स्थापना भएको रक्त रञ्जित अखिल क्रान्तिकारीको सङ्गठन र यसले हासिल गरेको उपलब्धिलाई सदैव रक्षा गर्दै परिवर्तनको बाटोमा अग्रसर हुन सबै विद्यार्थीहरूलाई आग्रह गरे ।

बैठकमा विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गरिरहेको जिकिर गरे । यस्तै एक परिवार एक अखिल क्रान्तिकारी भन्नेमा विद्यार्थी नेताहरूले जोड दिएका थिए । उनीहरूले अखिल क्रान्तिकारीकै वलिदानीबाट संविधानमा विभिन्न शैक्षिक मुद्दा र अधिकारहरू स्थापित गरेको उल्लेख गरेका थिए ।

बैठकले आफ्नो कमिटीलाई पूर्णता समेत दिएको छ। सङ्गठनको रिक्त सह सचिवमा रन्जिता विश्वकर्मा र सदस्यमा अमन परियारलाई मनोनीत गरी कमिटीलाई ३१ सदस्यीय बनाइएको छ। क्रान्तिकारीले शुभ दीपावलीको अवसरमा सदरमुकाम कुश्मालगायत जिल्लाका विभिन्न स्थानहरूमा आफ्नो सांस्कृतिक कार्यक्रमसँगै देउसी भैलो खेल्ने निर्णय गर्दै विभिन्न कार्यभार समेत तोकेको छ। बैठकमा अखिल क्रान्तिकारीका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र पर्वत काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष अशोक पौडेललाई बधाई तथा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्