नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौं : मन्त्री पाण्डे

Badri_Pande
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ। नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौं।’

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने बताउँदै सोका मन्त्रिपरिषद्मा ती विधेयक पेस गरिएको जानकारी दिए।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताए।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत गरिएको छ,’ मन्त्री पाण्डेले भने, ‘आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकिृया अघि बढाइएको छ।’