भारतीय प्रधानमन्त्री माेदीलाई प्रचण्डकाे शुभकामना

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, ९ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जीतको शुभकामना दिएका छन्।

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी उनको पार्टी भारतीय जनता पार्टी ‘भाजपा’लाई जीतको शुभकामना दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन २०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना’ उनको पोष्टमा लेखिएको छ।

भारतीय लोकसभा निर्वाचनको अहिले मतगणना भइरहेको छ। ५ सय ४२ लोकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जनाएको छ। आयोगका अनुसार प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले मात्र ५१ स्थानमा अग्रता हासिल गरेको छ।

आयोगले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको मतगणना नसकिएको र कसैले पनि स्पष्ट जित हान नपारेको जनाएको छ। कूल ५ सय ४३ मध्ये चुनाव भएका ५ सय ४२ लोकसभा सिटमा को विजयी हुने भन्ने आधिकारिक निर्णय नआउँदै उनले बिहीबार ३ बजे उनले शुभकामना दिएका छन्।

विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो।