आगलागीबाट अढाई करोडका मालसामान नष्ट

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

उदयपुर, १० जेठ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ।

बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल भएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए।तेजपातसहितको ठूलो भण्डारण घर र औषधी प्रशोधन केन्द्रसमेत भएको स्थानीयवासी भरत थापाको घरमा बिहीबार साँझ अचानक आगलागी भएपछि घरमा भण्डारण गरिएको रु दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ।

साँझ अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर नगरपालिकाको दमकल झिकाएको थियो। बेलुका ८ बजे दमकल घटनास्थल पुगेपछि प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा रातको १२ बजे मात्र आगलागी नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख राईले बताए।

आगलागी नियन्त्रण ढिलै भए पनि मुर्कुची बजारका अन्य घर भने आगलागी हुनबाट बच्न सफल भएको पनि प्रहरीले बताएको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेको मुर्कुची बजारमा दमकल र प्रहरीको टोली पनि पुग्न समय लागेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीले बताएको छ ।

औषधि प्रशोधन तथा तेजपात खरीदकर्ता भरत थापा राजधानी काठमाडौंतिर रहेको र घरमा औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर पनि कोही नभएको बेला अचानक आगलागी हुनुको कारण केही रहस्य भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले अहिले आगलागीको विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्