Spread the love
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

शिक्षामा १८ देखि २० प्रतिशत बजेट चाहिन्छ : क्याम्पस प्रमूख हमाल (अन्तर्वार्ता)

0

तात्कालीन नेकपा (एमाले) का महासचिव एवं चर्चित जननेता मदन भण्डारी स्मृतिमा मदन भण्डारी मेमोरियल कलेज स्थापना भएको १८ वर्ष पूरा भइसकेको छ। आफ्नो १८ वर्षे यौवन उमेरमा कलेजले आफूलाई शैक्षिक र व्यवसायिक दुवै दृष्टिले स्थापित गरिसकेको छ। एउटा नितान्त नयाँ स्मरण र गुणस्तरको जिम्मेवारीलाई बहन गर्दै अगाडि बढेको यो कलेज उपत्यकाको प्रमूख कलेजमध्ये एक हो।

कलेजको शैक्षिक, प्रशासनिक र अन्य अवस्था कस्तो छ ? चुनौतिहरु के छन् ? समग्र देशको शैक्षिक विकासमा कलेजको योगदान कस्तो छ ? यिनै विषयको सेरोफेरोमा रहेर लोकपाटीका मधुरिमा पाण्डे र वेदनाथ ढकालले मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमूख डम्बर हमालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं–सम्पादक।

यस कलेजको सङ्क्षिप्त पृष्ठभूमि बताइदिनुहोस् न ।

मदन भण्डारी मेमोरियल कलेज स्व. जननेता मदन भण्डारीको स्मृतिमा स्थापना भएको कलेज हो। विशेष गरी सन् २००१ तिर कस्तो परिस्थिति थियो भने, एकातिर सरकारी कलेज वा शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा दिन नसकिरहेको अवस्था थियो। अर्कोतिर राम्रा विद्यार्थीहरु पनि निजी विद्यालयमा पढ्न जान नसक्ने अवस्था थियो। जसले गर्दा गुणस्तरीय उच्च शिक्षा लिनबाट विद्यार्थीहरु बञ्चित हुनुपर्ने अवस्था थियो। र, त्यसबेला त्यस्ता विद्यार्थीहरुलाई पनि गुणस्तरसहितको उच्च शिक्षा दिन सक्नुपर्छ भन्ने मान्यताका साथ यो कलेजको स्थापना हुन पुगेको हो।

यो सामुदायिक कलेज हो। यसको स्थापना भएको १८ वर्ष भएको छ । यहाँ विशुद्ध अध्ययनलाई फोकस गरिन्छ । तर, बाहिर कतिपय मान्छेमा चाहिँ कस्तो भ्रम छ भने यो कम्युनिष्ट नेताको नाममा खोलिएको कलेज हो, त्यसैले यहाँ मार्क्सवाद पढाइन्छ कि अथवा बढी राजनीतिमा झुकाव पो राखिन्छ कि भन्ने छ। त्यो पर्नु स्वभाविक पनि हो। तर, यस कलेजमा हरेक विधामा निश्चित कोटामा विद्यार्थी भर्ना गरिन्छ र विशुद्ध अध्ययनमा मात्र फोकस गरिन्छ।

राजनीतिको कुरा गर्दा त यहाँ स्ववियू नै हुँदैन। अन्य कलेजहरुमा जसरी राजनीतिक पार्टीका भातृ संगठनहरु हुन्छन् र स्ववियु चुनाव हुन्छ, यहाँ त्यस्तो हुँदैन। तर, विद्यार्थीको नेतृत्व क्षमताको विकास गर्न र अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीलाई सक्षम बनाउनका लागि हामीले एउटा नयाँ जमर्को गरेका छौं। त्यो भनेको विद्यार्थी परिषद हो। यो परिषद कुनै राजनीतिक विचार वा पार्टीसँग आस्थावान् नभई समग्र विद्यार्थीको हित र उनीहरुको क्षमता विकाससँग सम्बन्धित हुन्छ। किनभने यो परिषद भनेको सक्षम, योग्य र पोख्त विद्यार्थीहरुको साझा संगठन हो। यसको मोडल नै फरक छ। कुनै पनि विषयमा योग्य र सक्षम विद्यार्थी मात्र यो संगठनमा आबद्ध हुन सक्छन्।

काठमाडौंमा एकातिर कलेजहरु च्याउजस्तै उम्रिएको पाइन्छ, अर्कोतिर शैक्षिक स्थिति खस्कँदै गएको जस्तो देखिन्छ, यो कलेजको शैक्षिक स्थिति कस्तो छ ?

एकदम राम्रो कुरा गर्नुभयो। नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत एउटा विद्यार्थीका लागि ५० हजारभन्दा माथि खर्च गरेको हुन्छ। तर, त्यति धेरै खर्च गरेर उपलब्धि के हासिल भयो ? प्रश्न यहाँनेर हो। हामीले त यहाँ एउटा विद्यार्थीका लागि २० हजार पनि खर्च गरिरहेको छैनौं। यहाँ सरकारको एक रुपैयाँ पनि लगानी छैन। भनेपछि विद्यार्थीकै पैसा कमभन्दा कम खर्च गराएर पनि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सकिँदो रहेछ। तर, त्रिविका विद्यार्थीका लागि त्यतिधेरै खर्च गर्दा पनि किन शिक्षामा गुणस्तरीयता दिन सकिरहेको छैन ? उच्च शिक्षामा त्रिविको रिजल्ट हेर्नुस् न कस्तो अवस्था छ ? अनि राज्यले त्यत्रो लगानी गर्नुको औचित्य के ? हाम्रो रिजल्ट हेर्नुस् ए, ए प्लस गरेका छौं। प्रत्येक वर्षजस्तो हामीले यहाँबाट प्लस टु टपर, विश्वविद्यालय टपरहरु उत्पादन गरिरहेका छौं। यो कसरी सम्भव भयो त भन्दा हामी राजनीतिबाट अलग भएर अध्ययनलाई विशेष रुपले फोकस गर्छौं। बन्द हड्तालकै कुरा गर्दा हाम्रो कलेज नेपाल बन्दमा समेत बन्द हुँदैन, अन्य बन्दको त कुरै छोडौं। जबकी अन्य सरकारी तथा सामुदायिक कलेजहरु बन्दहड्तालमा बन्द हुन्छन्। निजी कलेजहरु त बन्द हुने नै भए।

त्यसकारण मदन भण्डारी कलेज एक मात्र त्यस्तो कलेज हो, जुन कलेजले कुनै पनि बन्द हड्तालको प्रवाह नगरी निरन्तर अध्ययन र अध्यापन गराउँछ। त्यसकारण पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं। अको कुरा हामी शिक्षाको गुणस्तर सम्बन्धि क्यु.ए.ए. (QQA) द्वारा प्रमाणित छौं। र, यस्ता शैक्षिक संस्थाबाट लिइएको प्रमाणपत्र मात्र अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको भएको मानिन्छ। र त्यस्ता प्रमाणपत्र भएका विद्यार्थीले विश्वका जुनसुकै ठाउँमा गएर आफ्नो विषय र क्षमताअनुरुपको काम गर्न सक्छन्।

आजभोलि निजी विद्यालयमा पढ्ने पढाउने ट्रेन्ड चलेको छ, यो कलेजले विद्यार्थी कसरी तानेको छ र शैक्षिक गुणस्तर कस्तो छ ?

हामीले कलेजलाई ब्राण्ड दिएका छौं। मदन भण्डारी कलेजको आफ्नै किसिमको ब्राण्ड छ। बाहिर हाम्रो कलेजको व्यवस्थापन, शैक्षिक गुणस्तर हेर्दा कतिपयले यो कलेज त निजी होला, महङ्गो होला भन्ने पनि सोच्नुहुन्छ। तर, यो विशुद्ध सामुदायिक कलेज हो। हामीले विद्यार्थीलाई हरेक संकायमा गुणस्तरीय शिक्षा दिएको छौं। त्यसैकारण विद्यार्थीको अत्याधिक आकर्षण पनि छ। विद्यार्थी आकर्षणको मुख्य पाटोका रुपमा हामीसँग विभिन्न आइ.टी. कार्यक्रमहरु पनि हुन्। नेपालमै सबैभन्दा राम्रो आइ.टी प्रोगाम भएको कलेज नै मदन भण्डारी कलेज हो भनेर हामीले परिचय बनाइसकेका छौं।

विश्वविद्यालयको आइ.टी.मा सक्षम र योग्य विद्यार्थीले त नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा पढ्न पाउँछन्। तर, त्यो स्कोलरसिप छोडेर विद्यार्थीहरु यहाँ आइराखेको स्थिति छ। हामीले आएजति विद्यार्थीलाई लिन सक्ने अवस्था छैन। हामीसँग निश्चित कोटा छन्। ती कोटाभन्दा माथि हामीले एक जना पनि विद्यार्थी लिन सक्दैनौं। यहाँ आएको योग्य र सक्षम विद्यार्थीमध्ये पनि अझै सक्षम र योग्य विद्यार्थीले मात्र यहाँ प्रवेश पाउँछन्। यस कारण पनि यहाँको शैक्षिक गुणस्तर राम्रो छ।

यस कलेजले गरीब, असहाय र जेहेन्दार विद्यार्थीलाई के कस्तो सुविधा दिँदै आएको छ र अभिभावकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

कलेजले विद्यार्थीलाई विभिन्न आधारमा सेवा सुविधा प्रदान गर्दै आएको छ। शैक्षिक गतिविधिहरुमा राम्रो पर्फम् गर्ने सक्षम विद्यार्थी, असहाय वा अनाथ विद्यार्थीलाई हामीले छात्रवृत्ति दिने गर्छौं। ‘प्लस–टु’मा राम्रो गरेको विद्यार्थीले स्नातक तहमा छात्रवृत्ति पाउँछ। त्यस्तै प्रवेश परीक्षामा राम्रो गरेको आधारमा, आन्तरिक परीक्षामा राम्रो गरेको आधारमा विद्यार्थीले विभिन्न सेवा सुविधा पाउने गर्दछन्। प्रत्येक सेमेस्टरका प्रत्येक आन्तरिक परीक्षामा टप गर्ने विद्यार्थीले निःशूल्क पढ्न पाउँछ।

त्यो बाहेक पिछाडिएको गाउँ, गरीब, असहाय विद्यार्थी हुन सक्छन्, त्यस्तै शहिदका छोराछोरी हुन सक्छन्, जनआन्दोलनका घाइते, अपाङ्गका छोराछोरी हुन सक्छन्। त्यस्ता विद्यार्थीहरुलाई पनि विभिन्न कोटामा राखेर कलेजले विभिन्न सेवा सुविधा दिने गरेको छ। यस्ता सुविधा प्रदान गर्नका लागि हामीले मदन भण्डारी राष्ट्रिय छात्रवृत्ति कोषको स्थापना गरेका छौं। त्यो कोष र अन्य दाताहरुले दिएको सहयोग रकमको ब्याजबाट उनीहरुलाई सेवा सुविधा प्रदान गरिराखेका छौं।

कलेजलाई विश्वविद्यालय बनाउने भन्ने कुरा आएको थियो, के हुँदैछ अहिले ?

त्यो कुरा अगाडि बढिरहेको छ। हाम्रो पहिलो सपना वा मदन भण्डारी कलेज स्थापना गर्नुको सपना नै यसलाई विश्वविद्यालयको रुपमा विकास गर्ने भन्ने हो। यसलाई हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको विश्वविद्यालय बनाउने सपना देखेका छौं र निकट भविष्यमा पूरा हुने सङ्केत पनि देखिएको छ। हामी आशावादी छौं र त्यसका लागि प्रक्रिया अगाडि बढाइराखेका पनि छौं। यु.जि.सी.को कार्यक्रमअन्तर्गत रहेर हामीले यसलाई क्यु.ए.ए.द्वारा प्रमाणित विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य राखेका छौं।

कलेजका भावी योजना के कस्ता रहेका छन् ?

कलेजका भावी योजना भनेकै यस कलेजलाई एउटा विश्वविद्यालयको रुपमा विकास गर्ने, आज पनि कतिपय जेन्युन विद्यार्थीहरु विभिन्न कारणले उच्च शिक्षा लिनबाट बञ्चित छन्, ती विद्यार्थीले उच्च शिक्षा लिनका लागि केन्द्रको रुपमा यसलाई विकास गर्ने र हरेक संकायमा नयाँ–नयाँ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रमहरु ल्याएर विद्यार्थीहरुलाई विश्व परिवेशमै सक्षम जनशक्तिको रुपमा विकास गर्ने जस्ता हाम्रा भविष्यका योजनाहरु रहेका छन्।

कलेज शूल्क महङ्गो भएको गुनासाहरु आएका छन्, त्यसलाई कसरी फेस गर्दै आउनुभएको छ ?

यदाकदा त्यस्ता गुनासाहरु आइरहेका छन्, नआएका हैनन्। तर, हाम्रो शूल्क काठमाडौंको परिवेशमा त्यति धेरै महङ्गो छैन। किनभने हामीले पनि अन्य कलेजको तुलनामा गुणस्तरीय शिक्षा दिइरहेका छौं। हाम्रो स्रोत भनेको हाम्रा विद्यार्थी नै हुन्। हामीलाई बाहिरबाट कसैको सहयोग छैन। हाम्रो मान्यता भनेको हुनेबाट लिने र नहुनेलाई उपलब्ध गराउने भन्ने रहेको छ। हुनेले पनि धेरै दिँदैनन्।

हाम्रोमा औसतमा १५ सय प्रतिमहिना शूल्क लिन्छौं। त्यो भनेको काठमाडौंका अन्य महङ्गा कलेजको तुलनामा त धेरै सस्तो हो। यहाँ १५ सय फिमा पनि ब्याचलर पढाइ हुन्छ र भन्ने खालका विद्यार्थीहरु पनि आइरहेका छन्। कतिपय गाउँबाट आउने विद्यार्थीले महिनाकै १५ सय शूल्क लाग्छ भनेर महङ्गो भएको बताइरहेका हुन्छन्। यसकारण विद्यार्थीको परिवेश अनसार महङ्गो र सस्तो भनेर अथ्र्याउने काम भइरहेको छ। तर, औसतमा हेर्ने हो भने हाम्रो कलेजको शूल्क त्यति धेरै महङ्गो हो भन्न मिल्दैन।

सरकारले दश वर्षभित्र निजी विद्यालय र कलेजहरुलाई प्रतिस्थापन गर्ने गरी संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको छ, के शिक्षामा निजी क्षेत्रको औचित्य समाप्त हुन लागेको हो ?

प्रतिस्थापन गर्न सके त राम्रै हो। किनभने शिक्षा र स्वास्थ्य क्षेत्र सरकारकै मातहतमा रहेको राम्रो हो। हामीलाई कस्तो किसिमको जनशक्ति कति चाहियो, जस्तोः शिक्षक कति, डाक्टर कति, नर्स कति लगायतको निक्र्योल गरेर त्यसअनुसार लगानी गरेर सीमित कोटामा सीमित जनशक्तिको उत्पादन गर्नुपर्‍यो। त्यसो भयो भने शैक्षिक बेरोजगारहरुको उत्पादन हुँदैन। एउटा कुरा हामी के ढुक्क हुनुपर्छ भने निजी क्षेत्रले शिक्षामा योगदान गर्दैन। उसले त आफ्नो व्यापार गर्ने हो। आज निजी क्षेत्रबाट खोलिएको कलेज तथा विद्यालयले शिक्षाजस्तो प्रतिष्ठित क्षेत्रलाई व्यापारीकरण गरिरहेका छन्।

अब शिक्षामा व्यापार गर्न दिने कि रोक्ने त्यो सरकारको कुरा हो। हिजोका दिनमा ती स्कुल कलेजहरु कम्पनी ऐनअन्तर्गत दर्ता भएका हैनन् र ? कम्पनीको अर्थ व्यापार गर्ने र नाफा कमाउने भन्ने होइन र ? यस्ता नाफामुखी उद्देश्य राखेर खोलिएका स्कुल तथा कलेजले शिक्षामा गुणस्तरीय र दीर्घकालिन योगदान दिन्छन् भनेर कसरी भन्न सकिन्छ ? आफ्नो व्यापार व्यवसाय बढाउनको लागि केही हदसम्म राम्रै शिक्षा दिने प्रयत्न त गर्लान्। तर, कत्तिको दीर्घकालिन योगदान गर्छन् भन्ने कुरा चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। तसर्थ, यस्ता निजी विद्यालय तथा कलेजलाई प्रतिस्थापन गर्न सके त राम्रो हो।

हिजो पञ्चायत कालमा त सबै सरकारी स्कुल तथा कलेज थिए। निजीको त नाम निसानै थिएन। बहुदलीय व्यवस्था आएपछि निजी विद्यालयहरु खुल्न थालेका हुन्। अहिले च्याउ उम्रिएजस्तै जताततै निजी स्कुल तथा कलेजहरु उम्रिएका छन्। यो किन भयो त भन्दा सरकारले अनुमति दिएर हो। त्यसकारण अहिले शिक्षा, स्वास्थ्य जस्ता गम्भिर क्षेत्रहरु निजी क्षेत्रको हातमा गइसकेको अवस्था छ। हिजोका दिनमा डा. बाबुराम भट्टराई, डा. भोला रिजाल, डा. उपेन्द्र देवकोटा जस्ता बौद्धिक वर्गको उत्पादन गर्ने तिनै ‘ए–वान’ सरकारी कलेज त हुन् नि। अनि आज त्यस्ता सरकारी कलेजहरु त निजीकै कारण ध्वस्त भएको देखियो। अब त्यसलाई कसरी नियमन गर्दै लैजाने भन्ने कुरा सरकारले सोच्न जरुरी छ। र, यही सोचेर नै सरकारले दश वर्षभित्र निजी विद्यालय र कलेजहरुलाई प्रतिस्थापन गर्ने गरी संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको होला। यो लागू गर्न सके एकदम राम्रो कुरा हो भन्ने लाग्छ।

विगतमा हामीकहाँ निरक्षरताका कारण बेरोजगारी समस्या देखिन्थ्यो। तर, अहिले कुन विषयमा कति जनशक्ति आवश्यक पर्ने हो, त्यसको लेखाजोखा नगरी शैक्षिक बेरोजगारहरु उत्पादन गर्न थालिएको छ, यसबारे के भन्नुहुन्छ ?

वास्तवमा हामीले समय सापेक्ष कोर्सहरु रिभ्यू गर्न सकेनौं। ग्लोबल मार्केट अनुसारको पाठ्यक्रमको निर्माण गर्न सकेनौं र पुरानै पाठ्यक्रम अनुसारको शिक्षा विद्यार्थीलाई दिँदै रह्यौं। हामीले प्रायोगिक र व्यवहारिक किसिमका कोर्सहरुको निर्माण गर्न सकेनौं। यसले गर्दा बिना मार्केटका शैक्षिक बेरोजगारहरुको उत्पादन बढेर गयो।

अर्को कुरा हामीले शिक्षा जागिर खानका लागि मात्र प्राप्त गर्नुपर्छ भन्ने होइन भन्ने बुझ्नुपर्छ। हामीले शिक्षाले दार्शनिक, सिद्धान्तकार, वैज्ञानिक तथा विचारकहरु पनि बनाउन सक्छ भन्ने बुझेनौं र खाली शिक्षालाई जागिरसँग मात्र जोडेर हेर्यौं। खजाञ्ची बनाउने अस्त्रका रुपमा शिक्षालाई बुझ्यौं। तर, हामीले हाम्रो शिक्षालाई एउटा खजाञ्ची निर्माण गर्न सक्ने गरी समेत विकास गर्न सकेनौं। त्यसकारण शिक्षा नीतिदेखि लिएर हामी शैक्षिक पाठ्यक्रम पनि परिमार्जन गरेर शिक्षा प्रणलीलाई पनि विश्वस्तरीय बनाउने तर्फ अग्रसर हुनुपर्छ। सरकारले कुन क्षेत्रमा कस्तो जनशत्ति कति चाहिन्छ भन्नेबारे अध्ययन गर्नुपर्छ र सोहीअनुसारको शिक्षा प्रवाह गर्‍यो भने यो शैक्षिक बेरोजगारको समस्या हट्दै जान्छ भन्ने मलाई लाग्छ।

सरकार नयाँ बजेटको तयारीमा छ, तपाईंहरुले शैक्षिक क्षेत्रमा कस्तो बजेटको अपेक्षा गर्नुभएको छ ?

विश्वमै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बढी बजेट छुट्याउने देश क्युवा हो। संसारमा त्यस्ता देशहरु थुप्रै छन्, जसले शिक्षामा ठूलो बजेट खर्च गर्दछन्। सामान्यतया हरेक देशले आफ्नो वार्षिक बजेटको १८–२० प्रतिशत शिक्षामा लगानी गर्नुपर्छ। नेपालमा पनि कुनै एक समय त त्यति बजेट छुट्टिएको थियो। तर, अहिले बजेटको १० प्रतिशत भन्दा कम शिक्षामा लगानी भएको छ। विश्वविद्यालयको शिक्षामा त अझ ०.१ प्रतिशत लगानी छ।

अब यति न्यून लगानी गरेर हामीले विश्वस्तरीय जनशक्ति उत्पादन गर्न सक्छौं, अनुसन्धान गर्छौं, नयाँ–नयाँ आविष्कार गर्छौं, नयाँ ज्ञानको सिर्जना गर्छौं भन्ने कुरा चाहिँ सम्भावना नै छैन। यो बजेट कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो नन्सेन्स बजेट हो। एकातिर समाजवाद र समृद्धिको नारा अर्कोतिर शिक्षा क्षेत्रमा लगानीको पारा, यो कुनै पनि हालतमा चित्तबुझ्दो छैन। नारा अनुसारको काम गर्नका लागि सरकारले शिक्षा क्षेत्रलाई प्राथमिक रुपमा हेर्नुपर्छ। र बढीभन्दा बढी बजेट विनियोजन गर्नुपर्छ।

Spread the love
  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares
You might also like
Comments
Loading...