अरुको गुणगान गाउँदा हामी त्यति खुल्दैनौं भित्रभित्रै खुम्चन्छौं, किन ?

88
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। एउटा रमाइलो प्रसंग छ। एक चित्रकारले निकै मेहनत साथ चित्र तयार गरे।  चित्र प्रदर्शनीमा राखियो। सबैले चित्र हेरे। हेर्ने जतिले केही न केही गल्ती-कमजोरी औंल्याए। उनीहरुले चित्रको सुन्दर पक्ष हेर्ने भन्दा पनि त्यसको खोट पहिल्याउने काम गरे।

अर्कोदिन उही चित्रकारले चित्र तयार गरे। प्रदर्शनीमा लानुअघि आगन्तुकलाई आग्रह गरे, ‘यहाँ के-के कुरा मिलेको छैन त्यो तपाईंहरुले सुधार गरिदिनुहोस्।’ भोलिपल्ट चित्रकारले हेरे, उनको चित्रमा कुनै फेरबदल छैन। सबैले यो त्रुटी छ त भनिदिए। तर, त्यसलाई कसरी सुधार्ने भन्ने कुरा कसैसँग थिएन।

मान्छेका लागि धेरै सजिलो काम हो, अरुको गल्ती औल्याउने।अरुको कमजोरी खोतल्ने। जबकी त्यसलाई कसरी सुधार गर्ने भन्नेमा मान्छे मौन बस्छ। त्यसैगरी मान्छेले राम्रो भन्दा बढी नराम्रो देख्छ। नरम्रो कुरा नै खोतल्छ। नराम्रो कुरा नै उप्काउँछ। नराम्रो कुरा नै चर्चा गर्छ।त्यहाँ कति राम्रो कुराहरु पनि होलान्।

कति सुन्दर चिजहरु पनि होलान्। मान्छेले यस्ता कुरालाई भने बेवास्ता गरिदिन्छ।एउटा व्यक्तिले सेतो पेपरमा सानो थोप्ला कालो पोतिदिए। त्यहाँ उपस्थित मान्छेहरुलाई सोधियो, ‘तपाईंले यहाँ के देख्नुभयो?’ सबैले एउटै जवाफ दिए, ‘कालो बिन्दु ।’ त्यो कालो थोप्लोभन्दा बढी त सेतो वा सफा भाग थियो।  तर, मान्छेको आँखा सफा भागमा भन्दा बढी कालोमा गएर केन्द्रित भयो।

उनीहरुले देखे, त्यहाँ कालो थोप्लो नै छ। तपाईंको गल्ती, कमजोरी एवं त्रुटिबारे चियोचर्चा गरिन्छ। तपाईंले कुनै गल्ती गर्नुभयो भने त्यो कुरा तपाईंका आफन्त, चिनेजानेका, साथीभाई सबैकहाँ फैलन्छ। जबकी कुनै राम्रो काम गर्नुहोस्, त्यसबारे हत्तपत्ती चर्चा हुँदैन। जसरी तपाईंको गल्ती-कमजोरीले क्षणभरमै फैलन्छ, उसैगरी तपाईंको प्रगति एवं उन्नतीले व्यापकता पाउँदैन।

हाम्रो प्रवृत्ति के हुन्छ भने अरुको गल्ती चाडै फेला पार्ने। अरुको गल्ती कमजोरी नै खोज्ने। अरुको गल्ती कमजोरीबारे नै चर्चा गर्ने । मान्छे सर्वगुणी हुँदैनन्। केही न केही दोष हुन्छ। केही कमजोरी हुन्छ। हामी त्यही दोष, कमजोरी केलाउँछौ। जबकी उनको राम्रो गुणको चर्चा गरिदैन। अरुले सानो गल्ती गर्नुहुँदैन, हामी बढाईचढाई गरेर त्यसको चर्चा गर्छौ। अरुको केही कमजोरी देख्नुहुँदैन, हामी अरु बढाईचढाई सुनाउन थाल्छौ।

हामीलाई अरुको गल्ती, कमजोरी सुनाउन किन रुची लाग्छ ? किन अरुको दोष खोतल्नमा रमाइलो मान्छौ ? किन अरुलाई होच्याउँदा आनन्दित अनुभूत गर्छौ ? हामी अरुलाई होच्याएर आफु रमाउँछौ। अरुको कमजोरी केलाएर रमाउँछौ। अरुको दोष खुट्याएर रमाउँछौ। हामीमा यस्तो प्रवृत्ति यसकारण विकास हुन्छ कि, जब हामी ग्लानी, कुण्ठा, इष्र्याले खुम्चिएका हुन्छौ। हामी कुष्ठित हुन्छौ।

दम्भ र इष्र्याले मुर्मुरिएका हुन्छौ। यही कारण हामी आफैलाई सान्तवना दिन, आफैलाई शान्त तुल्याउन अरुको गल्ती कोट्याउन थाल्छौ। अरुलाई होच्याएर हामी आफैलाई सान्तवना दिइरहेका हुन्छौ। किनभने अरुको प्रगति, अरुको उन्तती, अरुको सफलताले हामीमा एक किसिमको ग्लानी, इष्र्या पैदा गरिरहेको हुन्छ। अरुको गुणगान गर्ने कुरामा हामी निकै कञ्जुस हुन्छौ। अरुको राम्रो पक्षबारे हामी चर्चा गर्न त्यती रुची राख्दैनौ।

अरुको प्रगतिको कुरा गर्न हामी त्यती जाँगर देखाउँदैनौ। त्यही मान्छेले कुनै सानोतिनो गल्ती गरेमा हामी खोजीखोजी त्यसबारे चर्चा गर्छौ। जबकी त्यही मान्छेले कुनै राम्रो काम गरिरहेको छ भने हामी सकेसम्म अरुले थाहा नपायोस भनेझै गर्छौ। अरुको दुर्गुण हामी कोट्याई-कोट्याई सुनाउँछौ, अरुको सत्गुण भने सकेसम्म ढाकछोप गर्छौ।

अरुको गुणगान गर्नुपर्दा हामी त्यती खुल्दैनौ । भित्रभित्रै खुम्चन्छौ । किन ? किनभने हामीलाई दम्भ, इष्र्या, प्रतिसोधले यति बलियोसँग थिचेको छ कि, खुलेर अरुको गुणगान गाउनै सक्दैनौ। यस्तै मनोविकारले हामी ग्रस्त छौँ। तर, सबै मान्छे यस्ता हुँदैनन्। धेरैजसो मान्छे चाहि यस्तै हुन्छन्।

जसले आफ्नो मनोविकार हटाएका छन्, उनीहरुले सबैलाई तटस्थ आँखले नै हेर्छन्। जे हो, त्यही देख्छन्। जे छ, त्यही देख्छन्। कसैप्रति उनीहरु पूर्ववत धारणा बनाउँदैनन्। यस किसिमको निष्पक्ष हेराईले मान्छेको दुर्गुण मात्र देख्दैन, गुण पनि देख्छ । गुण र दुर्गुण केलाउँछ। अरुको खुलेर प्रसंशा गर्छ। अरुको सुन्दर पक्षबारे चर्चा गछ । उनीहरुको मनमा इष्र्यभाव हुँदैन। दम्भ हुँदैन । ग्लानी हुँदैन। प्रतिशोध हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्