Spread the love
  • 525
  •  
  •  
  •  
  •  
    525
    Shares

नानो–प्रविधि : कसरी सम्भव छ समृद्धि ?

0

प्रा.डा. शोभाकान्त लामिछाने

घरको छत वा खुला चौरमा बसी रातको समयमा सफा, स्वच्छ, खुल्ला आकाशमा हेर्दैगर्दा जो कोहीलाई पनि ग्यालिलियोको जस्तै अद्भूत आनन्द महसुस भएको हुनुपर्दछ । यस्तो आनन्द कि विशाल अन्तरिक्ष (अनन्त) मा टिलपिल टिलपिल थोप्लोसरि अनगिन्ती ताराहरु जुनकिरी जस्तै अन्धकार (दुःख) नाश गर्दै जगतलाई नै निरन्तर उज्यालो प्रकाश दिइरहदै मुग्ध ।

विशाल अन्तरिक्ष (आकाश) मा सानो तारा, कति सुन्दर ! त्यसैगरी मानिसको सानो बच्चा सुन्दर लाग्छ, त्यसैमा पनि मसिनो तोतेबोली झन सुन्दर ! त्यति मात्र होइन बगैंचामा फुलेका फूलहरु राम्रो लाग्छ, कोपिला झन राम्रो ! यसरी सानो वस्तुको बखान गरिरहदा पंक्तिकार पनि त सानो उमेरमा स्कुल जाँदै गर्दा कँहिकतै भेटिएको चम्किलो नौंरङ्गी मयुरको सानो प्वाँख (नानो कण) प्रेमपूवर्क लिई किताबको पत्राभित्र जतनसाथ राख्ने गरेको थियो ।

विद्याको सागर (पुस्तक) भित्र, अनायास राखिएको त्यो मयुरको प्वाँख यी पंक्तिहरु कोर्दै गर्दा करीब आधा शताब्दीको अन्तरालपछि पनि जस्ताको तस्तै, उही सुन्दरता ! चौंरङ्गी पुतलीको पखेटा (नानो कण) अति मनमोहक ! यसरी हेर्दैगर्दा प्रकृति आफैले सानो संसार (नानो वल्र्ड) सिर्जना गर्ने रहेछ । हामी नेपालीहरु पनि त आफ्ना इष्टमित्र, छरछिमेक, नातागोता, साथीभाइ लगायत सम्पूर्ण समाज हुँदाहुँदै आफ्नो श्रीमती, छोराछोरी सहितको जमघटलाई ‘मेरो सानो सुन्दर संसार’ भन्ने गर्दछौं । आखिर किन ? यसरी हाम्रो वरिपरिका वस्तुगत पदार्थ चाहे सजीव (बच्चा, फूल/कोपिला) वा निर्जीव (अन्तरिक्षको तारा, टिकटिक मयुरको प्वाँख) जे भए पनि, अन्ततः यो सानो संसार हामी सबैका लागि किन सुन्दर ! किन प्यारो !! सानोमा हामी किन लालयित !

मानिस स्वाभावैले ‘सानो तर सुन्दर’को खोजीमा निरन्तर लागि नै परेको हुने रहेछ । आधुनिक सभ्यताको पूर्वाध्द (मेडीवल पिरीयड) देखि नै पर्सियनहरु, चाइनिजहरु सिसाको झ्यालमा बुट्टा कुद्ने, घरमा रङ्गरोगन गर्ने, अनुहारमा मेकअप गर्ने इत्यादि काम गर्दै आइरहेका हुन् । तर, यस भित्रको रहस्य (कसरी भइरहेको हुन्छ ?) का बारेमा उनीहरु जानकार थिएनन् । समय बित्दै जाँदा सुन्दर सानो संसारको समृद्धिमा प्रयोग हुने यस्तो प्राविधिक ज्ञान विभिन्न विषयगत विधाहरु (भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, पदार्थ विज्ञान, इञ्जिनियरिङ्ग आदि) को संयोजन (फ्युजन) हुने रहेछ ।

अणु र परमाणु त यस्ता जीवाणु (व्याक्टेरिया, भाइरस) भन्दापनि अझै करिब हजार गुणा साना हुन्छन् । यिनीहरुलाई देख्नसक्ने विषय निकै चुनौतिपूर्ण हुन्छ । तथापि, १९८० को कुरा हो, यसटिएमको आविष्कारसँगै १९८२ मा आणविकबलीय सुक्ष्मदर्शक यन्त्र (एटीएम) को आविष्कार गरियो, जसले प्रत्येक अणु र परमाणुलाई स्पष्ट रुपमा देख्न र आवश्यकता अनुसार स्थानान्तरण गर्न पनि सकिन्छ ।

यस किसिमका विज्ञानका विविधताको संश्लेषणबाट नृस्रित नयाँ ज्ञानको कर्मक्षेत्र हो – नानोटेक्नोलोजी अर्थात अतिसुक्ष्म विज्ञान र प्रविधि, मानव सभ्यतामा समृद्धिको अथाह सम्भावना बोकेको यस किसिमको ज्ञानको विधा तब मात्रै सतहमा आइपुग्यो जब १९ सेप्टेम्बर १९५९ का दिन अमेरिकाको क्यालिर्फोनिया प्रविधि अध्ययन संस्थानमा ‘अमेरिकी भौतिकशास्त्री समाज’को वार्षिक कार्यक्रममा नोवल पुरस्कार विजेता भौतिकशास्त्री रिचर्ड फेयमेनले दिएको प्रवचन ‘पिँधमा अनगिन्ती कोठा छन्’ बाट नै यस सम्बन्धि धारणाको विकास भएको मानिन्छ । उनले आफ्नो प्रवचनमा वैज्ञानिकहरुले अणु र परमाणुलाई कसरी हेरफेर गर्न र नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । त्यसैले उनलाई यस विधाको जन्मदाता मानिएको छ ।

यसको करीब एक डेढ दशक पछाडि प्राध्यापक नोरियो तानिगुचीले पहिलोपटक नानोटेक्नोलोजि शब्दावली प्रयोग गरी आणविक यन्त्र प्रविधिलाई थप उचाईमा पु-याउने काम गरे । त्यसपछि पनि विभिन्न वैज्ञानिकहरुले यस क्षेत्रमा गरेको योगदानको फलस्वरुप हाल आएर यो विधा व्यक्तिगत, संस्थागत एवं राज्यस्तरमा समेत सम्वृद्धि बाहकको रुपमा निकै लोकप्रिय र भरोसायोग्य भविष्यका लागि विश्वव्यापी रुपमा अहम् प्राथमिकतामा पर्दै आएको छ ।

सर्वसाधारणको मनमष्तिष्कमा अति सानो प्रविधिको धारणा घुसाउन निकै कठिन काम हुन सक्छ । केही उदाहरणसहित ‘एक नानोमिटर’को धारणा बुझाउनः (१) हामीले पढिरहेको अखबार पत्रिकाको एक पेजको मोटाइको एक लाख गुणा सानो भाग (२) तुलनात्मक रुपमा, यदि पृथ्वीको आकार (वा ब्यास) एकमिटर मान्ने हो भने, घरमा प्रयोग हुने प्रत्येक इँटाको लम्बाई एक नानोमिटर बराबरको हुनेछ (३) एक इञ्चमा पच्चीस सय चालीस हजार नानोमिटर हुन्छ । अब कल्पना गरौँ, नानोमिटर कति सानो आयाम हुने रहेछ । यो कुनै काल्पनिक कुरा होइन, यो त हामीले दिनानुदिन प्रयोग गरिरहेको (मोवाइल फोन, कस्मेटिक आदि) वस्तुहरुको तथ्यगत विषय हो । नानोटेक्नोलोजी त हामीलाई थाहा नभई–नभइकन मानव जीवनको अभिन्न अंग बनिसकेको छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो, जसरी थोपा–थोपा मिलेर सागर बनेको हुन्छ त्यसरी नै जगतमा पाइने सबै वस्तुहरु (सजीव वा निर्जीव) को स्वरुप थोपाजस्तै अणु र परमाणुहरुको एकठ्ठा रुप हो । जस्तो कि–हामीले खाने खाना, लगाउने कपडा, बस्ने घर, हिंड्ने बाटो एवं आफ्नै शरीर आदि समेत सबै, अणु परमाणुबाट बनेका हुन्छन् । यसलाई अझ यसरी बुझौं कि जसरी एउटा सियोले धागोमा एक पछि अर्को फूलको थुँगा उन्दै गर्दा माला तयार हुन्छ त्यसरी नै एकपछि अर्को अणु परमाणु उन्दै गरिने श्रृङ्खलाले पदार्थको निर्माण गराउँदछ, जुन अथाह सागर जस्तै हो । यहाँनेर फूलको थुँगाको केस्रा जस्तै परमाणु पदार्थको अतिशुक्ष्म इकाई हो । हाम्रो नाङ्गा आँखाले देख्न नसक्ने यस किसिमको सानो संसार (अणु परमाणु) हेर्न केहि विशिष्ट सीप र दक्षताको आवश्यकता पर्दछ ।

जस्तो कि–सबै फुबलरहरु मेसी, रोनाल्डो, सर्जीरामोस या पेलेजस्ता हुँदैनन् । सबै क्रिकेटरहरु विराटकोली, ज्ञानेन्द्र, सन्दीप या सचिन तेन्दुल्कर जस्ता बन्दैनन् । खेलाडी सबैको चाहना फुटबलमा गोल गर्ने र क्रिकेटमा छक्का हान्ने नै हुन्छ । तर, केही सीमित मात्र १ आखिर किन त ? किनभने उनीहरुसँग विशेष खालको सीप र दक्षता छ, जसले आफ्नो बल, विविध अड्चनलाई पन्छाउँदै गोलपोष्टमा छिराउन सक्दछन् । त्यस्तै क्रिकेटमा छक्का र चौका हान्न सफल हुन्छन् । ठीक त्यस्तै–नानो लेवलमा काम गर्न अति विशिष्ट वैज्ञानिक ज्ञान, सीप र दक्षताको आवश्यकता रहन्छ, जसले पदार्थको फेरबदल र नियन्त्रण गर्न सहयोगी बनोस् । यसका अतिरिक्त लगाव र साधना यस विधामा भरोसा गरिएको हुन्छ । यस किसिमका विशेषताहरु समर्पण गर्न जो तयार हुन्छ, सफलता उसैको हातमा छ ।

हामी सबैलाई थाहै छ, स्कूल या कलेजहरुमा प्रयोग गरिने सुक्ष्मदर्शक यन्त्रले हाम्रो नाङ्गो आँखाले नदेख्ने वस्तुहरुः अमिवा, हाइड्रा, जीवकोष र तन्तुजस्ता स–साना वस्तुहरु देख्न सकिन्छ । त्यसैगरी अस्पतालको प्रयोगशालामा उपयोग गरिने सुक्ष्मदर्शक यन्त्रले अझ साना जीवाणुहरुः व्याक्टेरिया, भाइरस आदि देख्न सकिन्छ, जुन विद्यालयमा प्रयोग हुनेभन्दा करीब हजार गुणा साना हुन्छन् । व्याक्टेरिया र भाइरसजस्ता जीवाणु देख्नसक्ने सुक्ष्मदर्शक यन्त्रले चिकित्सा विज्ञानको क्षेत्रमा रोग निदान गर्ने काममा महत्वपूर्ण योगदान पु-याएको छ । जसले गर्दा हजारौँ मानिसहरुलाई अकाल मृत्युबाट बचाउन सफलता मिलेको छ ।

त्यसैगरी एसइएमले हाम्रो आँखाले देख्नसक्ने भन्दा दश लाख गुणा सानो वस्तुलाई देख्न सकिन्छ । भने, अणु र परमाणु त यस्ता जीवाणु (व्याक्टेरिया, भाइरस) भन्दापनि अझै करिब हजार गुणा साना हुन्छन् । यिनीहरुलाई देख्नसक्ने विषय निकै चुनौतिपूर्ण हुन्छ । तथापि, १९८० को कुरा हो, यसटिएमको आविष्कारसँगै १९८२ मा आणविकबलीय सुक्ष्मदर्शक यन्त्र (एटीएम) को आविष्कार गरियो, जसले प्रत्येक अणु र परमाणुलाई स्पष्ट रुपमा देख्न र आवश्यकता अनुसार स्थानान्तरण गर्न पनि सकिन्छ । अणु परमाणुहरु क्रियाशील हुने यस किसिमको योगदान नानोटेक्नोलोजीमा कोसेढुङ्गा या बरदान सावित बनेको छ । यस बापत आविष्कारकर्ताहरुलाई संसारको सबैभन्दा ठूलो र सम्मानित ‘नोवेल पुरस्कार’ले विभूषित (१९८६) गरिएको छ ।

अणुहरुलाई यसरी देख्नसक्ने भएपछि यसको बनावट, आन्तरिक संरचनामा फेरबदल गरी प्रयुक्त गुणहरु मानव हितमा प्रयोग गर्न निकै सहज भएको छ । सदियौं पहिले हाम्रा पूर्खा पर्सियन या चाइनिजहरुले तन्काइएको सिसामा सून या चाँदीका नानोकणहरुको उपयोगबाट नै मनमोहक रंगीन चम्कने झ्याल प्रयोगमा ल्याइएको बताइन्छ । पदार्थ, जुन अणु या परमाणु जत्तिकै साना कण जसलाई विशिष्ट वैज्ञानिक सीपद्वारा दोश्रो पदार्थमा घुलमिल गराउन सकिन्छ, यस्ता कणहरुलाई आधुनिक विज्ञानको भाषामा आयाम विहिन कर्ण अर्थात ‘क्वान्टमडट’ भन्ने गरिएको छ ।

अस्पतालको प्रयोगशालामा उपयोग गरिने सुक्ष्मदर्शक यन्त्रले अझ साना जीवाणुहरुः व्याक्टेरिया, भाइरस आदि देख्न सकिन्छ, जुन विद्यालयमा प्रयोग हुनेभन्दा करीब हजार गुणा साना हुन्छन् । व्याक्टेरिया र भाइरसजस्ता जीवाणु देख्नसक्ने सुक्ष्मदर्शक यन्त्रले चिकित्सा विज्ञानको क्षेत्रमा रोग निदान गर्ने काममा महत्वपूर्ण योगदान पु-याएको छ ।

अर्को पदार्थमा सजातीय वस्तु जस्तै घुलमिल हुनसक्ने यस्तो वैज्ञानिक प्रक्रिया (नानोप्रविधि) ले नयाँ पदार्थको सिर्जना गराउँदछ, जसका भौतिक या रसायनिक गुणहरु प्रयोग भइरहेका दुवै पदार्थको भन्दा भिन्न र स्तरोन्नति भई अतिविशिष्ट (श्रेष्ठ) बन्न पुगेका हुँदा रहेछन् । उदाहरणका लागिः (१) प्रेसर कुकर, राइस कुकर या ताओको बिँड जो क्याडमियम सेलेन्वाइड पदार्थबाट बनेको हुन्छ–साधारण अवस्थामा करीब ४०० डिग्री सेन्टीग्रेडमा पग्लने यो पदार्थ नानो तहमा आइपुग्दा करीब १४०० डिग्री सेन्टीग्रेडमा मात्र पग्लन्छ । (२) दैनिक जीवनमा अत्याधिक प्रयोग हुने कडा धातु (फलाम), जसलाई रिफाइन गरी स्टील बनाइएको हुन्छ, साधारण स्टील जति बलियो छ, नानो तहसम्म आइपुग्दा यही धातु छ गुणा अधिक बलियो (स्ट्रेन्थ) बन्दछ । (३) अन्तरिक्षमा प्रक्षेपण गरिने रकेटलाई चाहिने उर्जा आपूर्ति गराउन रकेटभन्दा ठूलो आकारको पेट्रोलियम भण्डारण गर्नुपर्ने बाध्यतालाई–थोरै पेट्रोलियममा केही मात्र आल्मुनियम (सिलोट) नानोकणहरु मिसाउँदा यसबाट हामीले कल्पना नै गर्न नसकिने गरी उर्जा उत्पादन हुने रहेछ, जसले रकेटलाई एकैचोटी सजिलैसँग पृथ्वीबाट हुत्याएर यसको गुरुत्व बलबाट छुटाउँदछ । (४) मानिसको सुन्दरता बढाउने आभूषणको रुपमा प्रयोग गरिदै आएको ‘सून’ जो रसायनिक प्रतिक्रियाविहीन इनर्ट (कहिल्यै खिया नलाग्ने/नष्ट नहुने) धातु मानिएको छ – नानो तहमा आइपुग्दा यसले तिव्र रसायनिक प्रतिक्रिया देखाउँने रहेछ, जुन गुणलाई पदार्थहरुमा आकर्षक, मनमोहक रंग सिर्जना गर्न मात्र नभई धुलो, मैलो, धुवाँजस्ता प्रदुषणजन्य चीजहरुबाट काठमाडौँजस्ता प्रदूषणग्रस्त शहरी बस्तीलाई प्रदूषणमुक्त गराउन प्रयोग गर्न सकिन्छ ।

यसका लागि ब्लाडर ट्रयापमा प्रयोग हुने यस किसिमका सूनका नानो कणहरुको इनर्जीलेवल यसरी डिजाइन गरिन्छ कि जसले आफ्नो क्षेत्रभित्रका प्रदूषणजन्य धुलोधुवाँ इत्यादि कणलाई चुम्बकले जस्तै तान्दछ र ब्लाडर ट्रयापमा हाल्दछ, जहाँबाट यी पदार्थ उम्कन सक्दैनन् । प्रदूषणग्रस्त ठाउँहरुमा नानोप्रविधिद्वारा आर्जित यस प्रकारको ज्ञान र सीपलाई मातृभूमिको आवश्यकताअनुकुल प्रयोग गरिएको खण्डमा हाम्रो मानव सभ्यताले थप उचाई हासिल गर्नेछ ।

यी त केही सीमित उदाहरण मात्र हुन, नानो प्रविधिको अत्याधिक उपयोग भइरहेको अर्को जल्दोबल्दो क्षेत्र चिकित्सा विज्ञान हो, जहाँ हालसम्म उपचार नै हुन नसकेका रोगहरुः एचआइभी एड्स, अल्जाइमर, क्यान्सर, ब्रेनट्युमर, वोनम्यारो इत्यादिको इलाज सम्बन्धित नानो अनुसन्धान नृस्रित निष्कर्षबाट सम्भव हुनसक्ने सम्भावना बढ्दै आइरहेको छ । यस खालको ट्युमर इन्काउण्टरका लागि अत्याधुनिक नानोपन डुब्बीलाई सिरिञ्जमार्फत् रक्तसागरको मार्ग हुँदै टार्गेटमिट गर्न पठाइन्छ ।

द्वन्द्वको समयमा पनि आफ्नो मिसन पूरा गरी छाड्ने यस्तो नानोप्रविधि सारा संसारभरि उज्यालो छर्नसक्ने, सारा दुनियाँको मुहारमा मुस्कान बर्साउन सक्ने, एसियाको टिकेदेश ‘सिंगापुर’ले जस्तै सम्वृद्धि हासिल गर्न सकिने, दुई विशाल राष्ट्रबीचको सानो तेजिलो मुलूक नेपालको विकास र सम्वृद्धिको अथाह सम्भावना बोकेको नानोटेक्नोलोजीको कार्यारम्भमा स्थिर र बलियो भनिएको वर्तमान सरकारको अन्तरदृष्टि पुगोस, शुभकामना !

Spread the love
  • 525
  •  
  •  
  •  
  •  
    525
    Shares
You might also like
Comments
Loading...