पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

petrolium-pipeline
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा आधा किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेको मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिए।

उनले पाइपलाइनको काम अब ५ दिन भित्रमा सकिने बताए। असारको दोस्रो साता सम्ममा पेट्रोलियम पदार्थ ल्याउने गरी तीव्र रूपमा काम भइरहेको उनले जानकारी गराए। उनले भने, ‘अब ५ दिन भित्रमा पाइप बिछ्याउने काम सक्ने योजना छ, असारको दोस्रो साता अर्थात जुनमा पेट्रोल पठाउने भारतीय आयल कर्पोरेशनको योजना छ।’ उनले तेल ल्याउने विषयमा छलफल गर्न भन्सार विभाग, नापतौल तथा गुणस्तर विभाग र नेपाल आयल निगमका एक÷एक प्रतिनिधि आज भारत गएको बताएका छन्।

टोली तेल कसरी ल्याउने, कति ल्याउने भन्ने लगायतका विषयमा छलफल गरेर भोलि फर्कने उनले जानकारी दिए। पथलैयादेखि अमलेखगञ्जसम्म पाइप बिछ्याइएको छ। अब आधा किलोमिटर मात्र पाइप बिछ्याउन बाँकी छ। जेठ महिनामा पाइपलाइनको काम सकाएर हाइड्रो टेस्ट, पाइप सफा गर्ने लगायतको काम हुने उनले जानकारी दिए।

अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की तयार गरिएको छ। ती ट्याङ्की ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन्।

ती मध्ये तीन वटा ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको परियोजनाका प्रबन्धक यादवले बताए। पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।

यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपालका तर्फबाट ७५ करोड लगानी हुनेछ। नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमले बताएको छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको आयोजना अनुसार कुल ६९.५ किलोमिटर पाइपलाइनको लम्बाइमध्ये ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ।

मोतिहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ। गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको थियोे।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएर आएदेखि नै पाइपलाइनको कामले गति लिएको थियो। पौडेलले पाइपलाइनको काम छिटो सकेर पेट्रोलियम पदार्थको ढुवानी खर्च घटाउन निरन्तर ताकेता गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्