गुठी विधेयक संविधान अनुकूल नै छ, शंका नगरौँ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौं, २७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक संविधान प्रतिकुल नभइ अनुकुल नै भएकाे बताएकी छिन्। साेमबार राष्ट्रियसभाको बैठमा  उनले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी हुन्।

बैठकमा विधेयकबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन्, ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शंका नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ।उनले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पारिन्।

निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई नीजि बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशंका नगर्न आग्रह समेत गरिन्।

आज बिहान ११ बजेर १० मिनेटमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगन गरेको थिए।

नेवा राजनीतिक अभियान तथा नेवा गुठी संघसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगत भएको थियो। सो घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक सुरु भएको थियो।

सभामा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य होइन भन्दै यसले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भनी आपत्ति जनाए। सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईंले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गरे।