पाकिस्तान टाट पल्टिने अवस्थामा, इमरानले देशवासीलाई यस्ताे भने

imran-Khan
लाेकपाटी न्यूज

इश्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै देशलाई गरिबीबाट मुक्त गर्नका लागि सबै पाकिस्तानी नागरिकलाई पहल गर्न आग्रह गरेका छन्। उनले ३० जुनसम्ममा आफ्नो सम्पत्तिको घोषणा गर्न जनतालाई आग्रह गरेका छन्। त्यसरी घोषणा गरेपछि कुन वैध र कुन अवैध सम्पति हो भन्ने छुट्टिनेसमेत उनले जनाए।

प्रधानमन्त्री खानले ३० जुन सम्ममा आफ्नो बेनामी सम्पत्ति, बेनामी बैंक अकाउन्ट तथा विदेशमा रहेको सम्पत्ति घोषणा गर्न आग्रह गरेका छन्। उनले सो समयपछि यो मौका नमिल्ने समेत जनाएका छन्। पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, ‘गएका १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब रुपैयाँसम्म पुगेको हो। जसको हामीले हरेक वर्ष ४ हजार अर्ब कर तिर्ने गरेका छौं। त्यसको आधा रकम ऋणको किस्ता तिर्नको लागि खर्च भइरहेको छ। बाँकी जति पैसा बच्छ त्यसबाट मुलुकको खर्च चल्न सक्दैन।’

उनको भनाइ थियो, ‘म यहाँहरु सबैलाई अपिल गर्दछु –सम्पति घोषणा गर्ने जुन योजना लिएर आएको छु त्यसमा यहाँहरु सबै सामेल हुनुहोला। हामी आफैँले पहल गर्नुपर्छ । कुरानमा कुनै पनि हालत बदल्न हामीले आफ्नै हालत बदल्नुपर्ने भनिएको छ । तपाईँहरुलाई ३० जुनसम्म आफ्नो बेनामी सम्पत्ति सार्वजनिक गर्ने मौका छ। हाम्रो सरकारसँग त्यस्तो सूचना पनि छ जुन पहिलाका सरकारहरुसँग थिएन । विदेशमा पाकिस्तानीहरुको सम्पत्ति र बैंक अकाउन्टको सूचना मसँग छ।’

प्रधानमन्त्री इमरानको भनाई थियो, ‘हाम्रा एजेन्सीहरुले लगातार यो विषयमा काम गरिरहेका छन् । उनीहरुसँग सबै सूचना छ । कसको साथमा कति बेनामी सम्पत्ति छ भन्ने कुराको सबै जानकारी मलाई छ । यहाँहरुको साथमा ३० जुनसम्मको समय छ यसबाट फाइदा उठाउन सक्नुहुनेछ।’

पाकिस्तानमा इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ। अनुमान गरिएअनुसार पाकिस्तानले आज मंगलबार ३ ट्रिलियन रुपैयाँ घाटा रहेको बजेट पेश गर्दैछ । जबकी पहिलाको बजेट १ दशमलब ८ ट्रिलियन रुपैयाँ मात्रै घाटामा आउँथ्यो।

विशेषज्ञहरुका अनुसार इमरान खानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को दबाब छ। पाकिस्तानले आईएमएफसँग ६ अर्ब डलरको ऋण लिन गइरहेको छ। यो लिनका लागि इमरान खानको सरकारले देशको आर्थिक नीति आईएमएफको शर्तअनुसार अघि बढाउने बाचा गरेका छन्। पाकिस्तानलाई आगामी १२ महिनामा ७०० अर्ब रुपैयाँको फन्ड जम्मा गर्न दबाब छ। आईएमएफले पाकिस्तानमा खर्चको कटौति तथा करमा बढोत्तरी गर्न आग्रह गरेको छ। त्यसैले पाकिस्तानको यसपालिको बजेट ऐतिहासिक हुने अनुमान छ।

त्यो बजेटले पाकिस्तानको भावि कार्यदिशा निर्देश गर्नेछ । पाकिस्तानमा धनी र गरिबबीचको खाडल गहिरिँदै गइरहेको छ । पाकिस्तानको व्यापक विषमता कराँची, लाहोर र इश्लामावादको बजारमा हेर्दा पनि थाहा हुन्छ। हालैका वर्षमा यी शहरमा अटोमोबाइलका राम्रा ब्राण्डहरु सबैजसो स्टोरमा रहेका छन्। तर, त्यहाँबाट बाहिरिनासाथ मानिसहरु रोटीकोलागि संघर्ष गरिरहेका छन् । पाकिस्तानको यसअघिको मुश्लिम लिगको सरकारले आफ्नो आर्थिक सर्भेमा आयात र निर्यातमा कसरी अन्तर भइरहेको छ भन्ने जनाएको थियो। इमरानले आफ्नो चुनावी अभियानमा भनेका थिए, ‘ऋण लिनुभन्दा बरु आत्महत्या गर्छु।’ तर अहिले उनै इमरानलाई ऋण बाहेकको अर्को विकल्प देखिएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्