युवा नेता देवकोटाको प्रश्न, ‘युवाहरु पार्टी निर्णयमा चल्ने कि गुटको गोटी बन्ने ?’

suman devkota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपानिकट युवा मोर्चाका नेता सुमन देवकोटाले आफ्नै मोर्चासम्वद्ध युवा नेताहरुलाई कसैको भरिया नबनी आफ्नै विवेक र पार्टी निर्णयको पक्षमा उभिन आग्रह गरेका छन्।

सरकारले खोलेको लोकसेवाको विज्ञापन संविधानसम्मत नभएकाले त्यसलाई सच्चाउनुपर्ने भन्दै संसदको सुशासन समितिले निर्देशन दिएपछि नेकपाभित्र विवाद सुरु भएको छ। त्यही विषयलाई लिएर नेकपाका पूर्व युवा संघ सम्वद्ध नेताहरुले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुको चरित्रहत्या गर्न थालेपछि देवकोटाले त्यसप्रति आपत्ति जनाएका छन्।

देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरूले ढिब्री मानसिकता अर्थात् दियोमा तेल जति भर्‍यो त्यति बल्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ। आफ्नो दियोमा तेल जसरी भर्‍यो, त्यसरी मात्रै विचार अभिव्यक्त नगरौं।’ उनले युवाहरुले आफ्नो विवेक र पार्टी निर्णय प्रयोग नगरी गुटको गोटी बनेकोमा पनि आपत्ति जनाएका छन्।

युवा संगठनको नामका विषयमा आएका समाचारप्रति पनि देवकोटाले आपत्ति जनाएका छन्। युवा संगठनको नेतृत्व पूर्वमाओवादी पृष्ठभूमिका दिपशिखाले पाएपछि संगठनको नाम युवा संघ नै हुनुपर्ने तर्कको उनले आलोचना गरेका हुन्। उनले लेखेका छन्, ‘दुई संगठन एक हुने प्रक्रियामा नाम, झण्डा, विधान, लोगो आदि कुराहरु आपसी समझदारीमा हुने कुरा सामान्य नै हो।’

देवकोटाले मिडिया काउन्सिल विद्येयक, लोकसेवाको परीक्षा र युवा संगठनको विषयलाई लिएर अध्यक्ष प्रचण्ड र माओवादी पृष्ठभूमिका नेताहरुमाथि मिडियामा गरिएको आक्रमणको पनि निन्दा गरेका छन्। यस्तो छ नेता देवकोटाको स्टाटस।

‘युवाहरूले ढिब्री मानसिकता अर्थात् दियोमा तेल जति भर्‍यो त्यति बल्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ। आफ्नो दियोमा तेल जसरी भर्‍यो, त्यसरी मात्रै विचार अभिव्यक्त नगरौं।

– लोकसेवाको कर्मचारी भर्नाको विषयमा सांगठनिक जस्तोगरि आएको विचार आपत्तिजनक छ।

– अहिलेसम्म स्थानीय तहमा जान नमानेका १२००० कर्मचारीलाई सरकारले बर्खास्त त के सामान्य नसिहतसम्म दिएको थाहा पाउनुभएको छ ?

– कर्णाली प्रदेशमा मात्रै १९९२ कर्मचारी दरबन्दीमा ११०० मात्रै समायोजित भएका छन्। बाँकी कर्मचारी कहिले जान्छन् ? स्मरणरहोस्, यी कर्मचारीहरु नपुगेर नगएका होइनन्, भएका कर्मचारी मालदार अड्डा छोड्न नमानेर नगएका हुन्।

– प्रदेश लोकसेवा आयोग गठन (नभएको प्रदेशमा) गरी तुरुन्त कर्मचारी भर्ना गरे अहिलेको समस्या सामान्य तरिकाले नै हल हुने नै छ। संविधानको मर्मअनुसार संघीयतालाई सफल पार्नुपर्ने बेलामा युवा नेताहरूले नै ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’को उखान चरितार्थ गर्नु राम्रो होइन।

– माथिका कुरा हल नभइकन व्यक्तिगत ढंगले जोसुकैबाट जस्तोसुकै विचार आए पनि संस्थागत मानिने छैन र स्पष्टताका साथ भन्छु नेकपाको युवा संगठन संस्थागत आन्दोलनमा जाने छैन। कोही अभियान्ताहरुलाई जान मन लागे व्यक्तिगत कुरा भयो।

– युवा संगठनका विषयमा पार्टीले गराएको समायोजनमा सबैको समर्थन रहनेछ। यो कुरामा दुविधा नै छैन। तर, पार्टीको कुनै पनि आधिकारिक निकायमा छलफल समेत नभएको विषयमा उचालिन जरुरी छैन।

– दुई संगठन एक हुने प्रक्रियामा नाम, झण्डा, विधान, लोगो आदि कुराहरु आपसी समझदारीमा हुने कुरा सामान्य नै हो।

– वैज्ञानिक समाजवादको महान् यात्रामा अगुवाइ गर्ने युवा पंक्ति पार्टी लिडर, आन्दोलन र संगठनलाई कमजोर बनाउन लाग्नु हुँदैन।

– कम्युनिस्ट सरकार पार्टीको मातहतमा रहने कुरा सामान्य सिद्धान्तकै कुरा हो। पार्टीको अध्यक्षहरुको आधिकारिक धारणा बाहेक मन्त्रीहरुको कुरा अन्तिम सत्य होइन र मान्न सकिँदैन।

यस्तो बेतुकको विषयमा नेकपाको युवा संगठनका नेताहरु पछि नलागौं, बसेर संगठन निर्माणका विषयमा छलफल केन्द्रित गरौं। आफ्ना विचारलाई सांगठनिक भनी आफ्ना फेवरका अनलाइन मिडियामा प्रचार गरी हिरोइजममा नरमाऔं, अभिवादन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्