उच्च अदालत पोखरा प्रहरीको घेराबन्दीमा

arresred-team pic
लाेकपाटी न्यूज

पोखरा, ३१ जेठ । उच्च अदालत पोखरालाई प्रहरीले घेराबन्दी गरेको छ। सोही अदालतको आदेश बमोजिम रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी “आक्रोश” लगायत नौ जना नेता तथा कार्यकर्तालाई प्रहरीले फेरी गिरफ्तारीको तयारी गरेपछि उनीहरु अदालत परिसरभित्रै रहेको उच्च अदालत बार एसोसिएसनको भवनभित्र सुरक्षित् रहेका छन् भने उनीहरुलाई फेरी गिरफ्तार गर्न प्रहरीले उच्च अदालत पोखरालाई घेराबन्दी गरेका छन्।

उच्च अदालत बार एसोसिएसनको भवनभित्र रहेका नेकपा नेता तथा कार्यकर्ताहरुमा नेकपा कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ नेकपा कास्कीका जिल्ला सदस्य एवं एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’  पार्टी जिल्ला सदस्य एवं अखिल क्रान्तिकारी केन्द्रीय सदस्य गण्डक ब्युरो संयोजक मिलन राई, पार्टी जिल्ला सदस्य एवं अखिल क्रान्तिकारी केन्द्रीय सदस्य कास्की जिल्ला अध्यक्ष काजी गुरुङ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एवं सहिद पुत्र सुजन सापकोटा, सचिव राजन साउद र गगन परियार रहेका छन्।

अहिले उनीहरुलाई बिहीबार उच्च अदालतका माननीय न्यायाधिश तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले “तुरुन्तै थुनामुक्त गर्न” आदेश दिएको थियो। “निवेदनसाथ पेश गरेका निवेदकहरुको नाउँमा हिरासतमा राख्ने थुनुवा पुर्जीको व्योहोराबाट त्यस्तो आरोप के आधारमा लगाईएको भन्ने पाइएन र मुलुकी फौजदारी संहिता २०७४ को दफा १३ (२) को कानूनी व्यवस्था र दफा १० बमोजिमको कुरा उल्लेख गरि थुनुवा पुर्जी दिएको अवस्था पनि देखिएन ।

अतः निवेदकहरुलाई प्रहरी हिरासतमा राख्ने र म्याद थप गर्ने न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको आधार र कारणबाट निज निवेदकहरुलाई यसरी प्रहरी हिरासतमा राख्ने कार्य गैरकानूनी देखिँदा जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई उच्च अदालत नियमावली २०७३ को नियम ३९ (ग) बमोजिम थुनामुक्त गर्नु भनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ,” आदेशमा भनिएको छ।

उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहीबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो। अदालतले थुनामुक्त गर्न आदेश जारी गरेतापनि प्रहरीले आफुहरुलाई फेरी फसाउन खोजको आरोप उनीहरुले लगाएका छन् र अदालतको बाह्य र भित्री परिसरमा नै प्रहरी परिचालित भएकाले उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएता पनि पक्राउ पर्ने डरले उनीहरुलाई अदालत परिसर भित्रको बार एसोसियसनको भवनमा राखिएको छ। उनीहरु अदालत बाहिर निस्कन पनि मानेका छैनन्।

बिहीबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा बहस गरेका थिए। गैह्रकानूनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ पर्ने मध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले गत सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाई पश्चात न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले बन्दिसहित जेठ ३० गते बिहीबार उपस्थित गराउन आदेश दिएको थियो।

यता, प्रहरीले भने डयुटी परेकोले मात्रै प्रहरीहरु देखिएको जनाएको छ। बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले संक्षिप्त कुराकानीमा भने, “हाम्रो ड्युटी हो।” तर, प्रहरी स्रोतकै अनुसार प्रहरीले फेरि उनीहरुलाई पक्राउ गर्नकै लागि अदालत परिसरमा प्रहरी खटाइएको हो। पक्राउ परेकामध्येका बाँकी नौ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको छ।

वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई गएको जेष्ठ २५ गते शनिबार राती प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको वार्ड नं. ११ उरीस्थित आमा समूहको भवनमा विद्यार्थीको संयुक्त बैठक बसिरहेको अबस्थामा गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्