काे हुन् पूर्वमन्त्री पौडेल ? (जीवनी)

Dr paudel dhaniram
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए।

मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनले २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिएका थिए।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका उनले २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य भएका थिए। २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत थिए। २०५१ को पार्टी विभाजनपछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका उनी, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आएका थिए। बिगतमा लामो समय उनले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारितासमेत गरेका थिए।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहेका उनले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका थिए।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी गरेका स्व. पौडेलले माडीका अर्का दिवंगत क्रान्तिकारी नेता दिवाकर भुषाललाई आफ्नो राजनीतिक गुरु ठान्दै सादा र सरल जीवनशैली अपनाउँदै आएका थिए। हृदयघात भई निधन हुनुपूर्व उनले दिवाकर भुसालकै स्मृति पुस्तकको सम्पादन गरिरहेका थिए। उनको आज शुक्रबार बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको हो। हार्दिक श्रद्धासुमन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्