नक्सलवादीको आक्रमणमा परी पाँच प्रहरीको मृत्यु

Naksalbadi aakraman pic
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ३२ जेठ । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ। सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन्।

पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडिमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। त्यस क्रममा पाँच जना प्रहरीको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

झारखण्डका प्रहरी प्रवक्ता एमएल मिणाले बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादीले पुलिसको गाडि रोकेर अन्धाधुन्ध गोली प्रहार गरेको बताए। यस क्रममा गाडिमा रहेका सबै प्रहरीको मृत्यु भएको थियो।

मोटरसाइकलमा आएका नक्सलवादीहरुले आक्रमण गरेपछि प्रहरीका केही हतियारसमेत लिएर गएका छन्। नक्सलवादीले आक्रमण गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको र त्यस क्रममा केही नक्सलवादीसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन्। घाइतेहरुलाई पनि नक्सलवादीले लिएर गएको बताइएको छ। प्रहरीले त्यस क्रममा खानतलासीलाई तीव्र पारेको छ। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्