काठमाडौं, ९ असार । पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ का गायक प्रकाश सपूतको गीतसँग आफ्नो गीतको लय मिलेको भन्दै गायक शम्भु राईले उजुरी दर्ता गरेका छन् ।
लामो समयदेखि यी दुईले आपसी समझदारीमा कुरा मिलाउन खोजे पनि नमिलेपछि अन्ततः राईले मुद्दा दर्ता गराएका हुन् ।
प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो पुरानो देउसी भैलोको गीत ‘आऊ नाचौँ साथी हो’सँग लय मिलेको भन्दै राईले उजुरी दिएका हुन् । राईले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएको बताए । साथै सपूतसँग आफ्नो निरन्तर कुरा भइरहेको पनि उनले जानकारी दिए ।
पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ को लय चोरीको आरोप खेपिरहेका प्रकाश सपूतले भने आफूले यसअघि शम्भु राईकाे उक्त गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका छन् ।