जलविद्युतमा चीनसँग मिलेर काम गर्न चाहन्छौं : उर्जामन्त्री

555
लाेकपाटी न्यूज

काठमाडौं, १० असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चीनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र वजार विस्तारको लागि पहल गरिरहेको भन्दै चीनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरे। उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिए।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र बङगलादेशसँग समेत यसवारेमा छलफल भइरहेको छ। यसमा चीनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ।’ मन्त्री पुनले भने। चीनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखका थिए।

जवाफमा राजदूत यान्छीले चीनियाँ कम्पनिले भोगेका समस्याहरुको बारेमा जानकारी दिंदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन्। मन्त्री पुनले राजदूतसँगको भेटमा भने ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन्। समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ। ’

चीनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन उनले आग्रह गरे।मन्त्री पुनले दुधकोशी जलविद्युत आयोजनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चीनियाँ सहयोगको लागी पहल गरिदिन आग्रह गरे।

भेटमा चनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन्। उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियां कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन्। राजदूत यान्छीले भनिन् ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ। त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्